हामी चिल्लो सडकमा कहिले गुड्ने ?



पूर्व–पश्चिम राजमार्गका पुलहरूको अवस्था जीर्ण छ। अधिकांश पुलहरू लामो समयदेखि मर्मतको अभावमा जीर्ण बन्दै गएका हुन्। पछिल्लो समयमा भारत सरकारको सहयोगमा पनि केही पुलहरू बनेका छन्। सडक विभागले पुल मर्मतको काम गर्ने हो।

सरकारले बर्सेनि सडक, पुल मर्मत–सम्भारका लागि बजेट विनियोजन गर्छ। सडक र सो सडकमा पर्ने पुलहरूको निर्माण हुन नसक्नुले नेपालको विकासमा गति आउन सकेको छैन। सडकको अवस्था मात्र राम्रो हुने हो भने विकासले अप्रत्याशितरूपमा गति लिने कुरालाई नकार्न सकिन्न।

राजधानीसँग जोडिने अहिले प्रायः सबै सडकहरूको अवस्था त्यति धेरै उल्लेखनीय छैन। एक दशकको अवधिमा टाटासुमो सञ्चालन हुने कुलेखानी–दक्षिणकाली सडकखण्ड भारत सरकारको सहयोगमा कालोपत्र गरिएको थियो। तत्कालीन अवस्थामा टेन्डरबाट गराइएको सो सडक मार्गको निर्माण ठेक्का एउटा कम्पनीले करिब आधा मोलमा कबोल गर्यो।

सो ठेक्का पनि उसले आफैं नगरी केही मुनाफा लिएर साना ठेकदारहरूको जिम्मा लगायो। आफैं त कममा सकार गरेको ठेक्का, मुनाफा लिएर साना ठेकदारहरूमार्फत काम गराएपछि त्यो सडक पूरा बन्न पनि नपाएर बिग्रियो। अहिले सोही सडकखण्डमा पुनः कालोपत्र गरिँदै छ।

यहाँ पुरानो घटनाको पुनरावृत्ति हुने सम्भावना पनि प्रबल छ। कालोपत्र गरिएका स्थानहरू अहिले नै टाटासुमो मात्रको सञ्चालनमा खाल्डाखुल्डी परिसक्यो।

सो सडकखण्डमा १४ महिना लगाएर केही स्थानमा कालोपत्र गरिएको थियो तर खाल्डाखुल्डी हुन १४ दिन पनि लागेन। हाम्रो देशको प्रशासनतन्त्रको कमजोरीका कारण यस्ता घटनाहरू दोहोरिँदै आएका हुन्।

कमजोरी आर्थिक र राजनीतिक दुवै छ। ठेकेदारसँगको सहकार्यमा आर्थिक धनलाभले भए/गरेका नराम्रा कामहरूप्रति आँखा चिम्लिदिनु, अर्को राजनीतिकरूपमा कायल हुनु। हैन भने अबका दिनमा हाम्रा प्राविधिकहरू पनि विश्व मापदण्डसँग मेल खाने गरी गुणस्तरीय योजना सफलतापूर्वक सम्पन्न गर्न दक्ष भइसकेका छन्।

उदाहरणका लागि मलेसिया, कतार, दुबई, साउदी अरबलगायत स्थानमा नेपाली प्राविधिकहरूले ठूल्ठूला गगनचुम्बी भवन, आधुनिक पुलपुलेसाहरूको निर्माण गरेका छन्।

विकास निर्माणको काममा ती देशका प्रशासकहरू सतर्क र जिम्मेवार छन्। त्यसैले विदेशमा भए पनि हाम्रा प्राविधिकहरूले आफ्नो सीप देखाउन पाएका छन्। तर दुर्भाग्य, देशमा भने त्यो दक्षताको प्रयोग गर्न सकिरहेका छैनन्।

दक्ष प्राविधिकबाट नापनक्सा गरी इस्टमेटपछि टेन्डर गर्दा ठेकदारहरूले ५० प्रतिशतसम्म कममा टेन्डर सकार गर्दा त्यो कामको गुणस्तरीयताबारे चिन्तित नभएकै परिणाम हो, हाम्रो सडक, पुलपुलेसाहरूको वर्तमान अवस्था।

अहिलेसम्म थुप्रै योजना तोकिएको भन्दा कममा सकार गर्ने काम भएको छ। यसो हुँदा सरकारले आफ्नो प्राविधिक दक्ष छैन कि योजनाहरू कमसल, झारा टार्ने किसिमले बनिरहेका छन्, अनुगमन गर्ने गरेको छैन।

प्राविधिक टिम ठीक छैन भने कार्यवाही गर्ने अनि गुणस्तरहीन काम भएको छ भने ठेक्का रद्द गरी क्षतिपूर्ति असुल गर्ने हो भने योजनाहरूको यस्तो अवस्था हुने थिएन। पुरानै ढर्रामा टेन्डर हुन्छ, कममा सकार हुन्छ अनि गुणस्तरहीन काम हुन्छ।

– अरूणा दवाडी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्