गजल महोत्सव २०७६ को समापन पाँचबुँदे घोषणापत्र जारी



????????????????????????????????????

यदुप्रसाद भट्ट

[email protected]

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको दुईदिने राष्ट्रिय गजल महोत्सव २०७६ पाँचबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ।

 राष्ट्रिय गजल महोत्सव–२०७६ मा सहभागीका तर्फबाट प्रस्तुत गरिएको घोषणापत्रमा गजल स्रष्टाहरू अबको गजल लेखन र दिशाका बारेमा के कसरी अगाडि बढ्ने भन्ने कुरा उल्लेख गरिएको छ।

घोषणापत्रमा गजल महोत्सव आयोजना गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गरिएको छ। त्यसै गरी नेपाली गजलका प्रणेता मोतीराम भट्टप्रति श्रद्धासुमन व्यक्त गर्दै गजल नेपाली साहित्यमा प्रवेश गरेको सवा शताब्दीभन्दा बढी भएको अवस्थामा नेपाली गजल लेखनको इतिहास र परम्पराप्रति पनि सम्मान प्रकट गरिएको छ।

गजलको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी गजल लेखनको मौलिक पक्षलाई पनि सम्मान गरिएको छ। साथै गजलमा अन्तर्वस्तु र रूप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अङ्गीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ भन्ने कुराप्रति सहमत भएको पनि उल्लेख गरिएको छ।

अन्त्यमा नेपाली गजलको विकास समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राष्ट्रिय गजल महोत्सव वर्षमा एकपटक आयोजना गर्न अनुरोध पनि गरिएको छ।बुधबार प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा भव्य कार्यक्रम गरी गजल महोत्सवकै रूपमा पहिलोपटक शुरू गरिएको कार्यक्रम युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्ष जगतबहादुर सुनारले समापन गर्नुभएको थियो।

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गजल लेखनको समस्यालाई सम्बोधन गर्न महोत्सव आयोजना गरिएको र आगामी दिनमा विशेष कार्यक्रम गर्दै जाने बताउनुभयो। उहाँले गजलकार मोतीराम भट्टको जन्मदिनमा विशेष कार्यक्रम गर्ने बताउनुभयो। गजल महोत्सवबाट गजलप्रेमी, वाचक, साहित्यकार सबैले केही न केही लिएर नै गएको उहाँको भनाइ थियो।

सोही कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले गजल महोत्सवमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।पहिलो दिनको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गजलप्रतिको आकर्षण बढ्दै गएकाले पहिलोपटक राष्ट्रियस्तरको गजल महोत्सवको अयोजना गरिएको बताउनुभयो।

‘देश, विकास र समृद्धिको दिशामा अग्रसर बनिरहेको छ’, उहाँले भन्नुभयो– ‘सहित्यकारहरू निराशा र कुण्ठालाई पन्छाएर सकारात्मक सोचका साथ समग्र रूपान्तरणको अभियानमा अग्रसर हुनुपर्छ।’ उहाँले मुलुकको परिवर्तनमा कला, साहित्य क्षेत्रले पुर्याएको योगदानलाई आत्मसात् गर्दै वाङ्मय क्षेत्रको विकासका लागि राज्यले ठोस योजना निर्माण गर्ने बताउनुभयो।

गजल साहित्यको विकासका लागि प्रतिष्ठानले काम गर्न शुरू गरेको भन्दै उप्रेतीले गजल साहित्यलाई प्रवद्र्धन गर्न खोजिएको बताउनुभयो। ‘नेपालको धर्म, संस्कृति, भाषा र साहित्यलाई अनुवादको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन विभिन्न देशसँग समन्वय र छलफल गर्ने कार्यको शुरुआत गरिएको छ।’ –उहाँले भन्नुभयो।

कार्यक्रम आयोजक समितिका संयोजक प्राध्यापक डा. हेमनाथ पौडेलले महोत्सवले गजलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले बहुलतामा रहेको मुलुकका सबै भाषा, संस्कृतिको संरक्षण गर्न सके समृद्धिको अभियानले साकार रूप लिने बताउनुभयो।

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवावस्थामा विकास भएको साहित्यले पछि व्यक्तिलाई अब्बल साबित गर्ने बताउँदै युवा उमेरलाई सिर्जनशील र रचनात्मक बनाउनुपर्ने बताउनुभयो। ‘साहित्यले अव्यक्त पक्षलाई पनि व्यक्त गर्न मद्दत गर्दछ’, उहाँले भन्नुभयो– ‘साहित्यले सिंगो समाजलाई दिशानिर्देश गरेको हुन्छ।’

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य एवं वरिष्ठ गजलकार बूँद राना, प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँला, राष्ट्रिय युवा परिषद्का माधव ढुंगेलले शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसै गरी प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख एवं राष्ट्रिय गजल महोत्सव तयारी समितिका संयोजक प्राडा हेमनाथ पौडेलले गजल महोत्सवको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

गजल वाचन सत्रमा सातवटै प्रदेशबाट सहभागीहरूले आ–आफ्नो गजल वाचन गरेका थिए। प्रत्येक प्रदेशबाट ४० वर्षभन्दा मुनिका पाँच/पाँच गजलकारलाई समावेश गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाबाट छनोट भएका २८ गजलकारले पनि गजल वाचन गरेका थिए।

सहभागी वक्ताहरूले प्रत्येक वर्ष निरन्तररूपमा गजल महोत्सव गर्न आग्रह गरेका थिए। नेपाली गजललाई अब निरन्तरता दिने प्रयासस्वरूप कार्यक्रम गरिएको कुलपति उप्रेतीले बताउनुभयो। प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले प्रतिष्ठानलाई साहित्य प्रतिष्ठनका रूपमा हेरिए पनि यो समग्र वाङ्मय प्रतिष्ठान रहेको बताउनुभयो।

वरिष्ठ गजलकार बूँद रानाले युवाको ‘यु’को अर्थ युग र ‘वा’ को अर्थ वाहक भएको भन्दै युगवाहकका रूपमा रहेका जमातले समाज सुधार र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिनुपर्ने बताउनुभयो।

कार्यक्रमको तरन्नुम सत्र प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बालसाहित्य तथा लोकवार्ता) विभाग प्रमुख डा. देवी नेपालको अध्यक्षतामा भएको थियो। तरन्नुम सत्रमा बूँद राना, सनतकुमार वस्ती, धीरेन्द्र प्रेमर्षिलगाय त १५ गजलकारले गजल वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्