चित्लाङको आकर्षण सम्पदा र पर्यावरणमैत्री विकासको पर्खाइमा



सुनील महर्जन, चित्लाङ

मल्लकाल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने यो ठाउँबीचमा सुनसानसँगै फेरि चहलपलह बढ्न थालेको छ। त्यो ऐतिहासिक ठाउँहो, चित्लाङ। अर्थात् मकवानपुरलाई काठमाडौं र बाँकी देशसँग जोड्ने बिन्दु।

साविकको चित्लाङ गाउँहाल थाहा नगरपालिका–९ र १० मा रहेको छ। त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको थियो।

यसले गर्दा लामो समय एकान्तबासमा बसेको बस्ती जस्तो हुन पुग्यो। चित्लाङको यही एकान्तबास विस्तारै तोडिडै गएको छ। चित्लाङ पुनः पुरानै लयमा फर्किन थालेको स्थानीयले अनुभव गरेका छन्।

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरूमा प्रतिकूल असर पर्ने गरी थानकोट र चित्लाङ सडक खण्ड निर्माण कार्य अघि बढाएको पनि स्थानीय बताउँछन्। बाटोमा सम्पदाहरू लथालिंग अवस्थामा छाडेको यत्रतत्र भेटिन्छ।

त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो। ‘चित्लाङमा बास नपाएर सडकमै सुत्ने पनि हुन्थ्यो। बिहान काठमाडौं जाँदै गरेका मान्छे चन्द्रागिरि डाँडाभरि देखिन्थ्यो’, स्थानीय वृद्ध रामकृष्ण मानन्धरले भन्नुभयो– ‘अब फेरि पुरानै दिनमा जस्तै यहाँचहलपहल बढेको छ।’

थानकोटबाट १२ किलोमिटरको दूरीमा यो गाउँरहेको छ। संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पहिले चित्लाङको नाम चित्रापुर थियो। चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहनगएको थियो। पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीय बताउँछन्।

चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत रेन्ज छ। नेपालका धेरै शासन र शासकहरूको साक्षी हो, चित्लाङ। त्यसैले त चित्लाङलाई लिच्छवी कालदेखिको प्रमाण मानिन्छ। २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन्।

लिच्छवी कालदेखि नै काठमाडौंबाट तराई–मधेसतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे। सर्वसाधारण मात्र नभई मल्लकालीन राजा, राणाहरू पनि तराई आउ–जाउ गर्न चित्लाङकै बाटोबाट ओहोर–दोहोर गर्थे।

त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको थियो।यसले गर्दा लामो समय एकान्तबासमा बसेको बस्तीजस्तो हुन पुग्यो। चित्लाङको यही एकान्तबास विस्तारै तोडिँदै गएको छ। चित्लाङ पुनः पुरानै लयमा फर्किन थालेको स्थानीयले अनुभव गरेका छन्।

आउ–जाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीयबासी बताउँछन्। राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरूको भनाइ रहेको छ। अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन्।

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य हाल संरक्षणविहीन अवस्थामा रहेको छ।

अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन्।

सम्पदा पुनर्निर्माणमा ढिलाइ

विनाशकारी भूकम्पले क्षतिग्रस्त सम्पदाहरू पुनर्निर्माणमा ढिलाइ भइरहेको यत्रतत्र देखिन्छ। चित्लाङमा रहेका धार्मिक तथा पुरातात्वक सम्पदाहरूको पुनर्निर्माणमा सरकारले बेवास्ता गरेको स्थानीय बताउँछन्।

भूकम्पले चित्लाङस्थित भीमसेन मन्दिर, अशोक चैत्य, ढुंगेधारा, स्वच्छन्द भैरव माविको पुरातात्वक भवनमा क्षति पुगेको थियो।‘हामीले पटक–पटक ताकेदा गर्दा पनि पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणबाट कुनै चासो दिइएको छैन’, स्थानीय राधाकृष्ण बलामीले भन्नुभयो– ‘महत्वपूर्ण सम्पदाहरू पुनर्निर्माण नहुँदा यस क्षेत्रको पहिचान गुम्दै जाने हो कि भन्ने हाम्रो चिन्ता छ।’

भारतका मौर्य सम्राट अशोकले इसापूर्व ३१६ मा बनाएको अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने अर्को सम्पदा हो। अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन्। तर, विनाशकारी भूकम्पले क्षतिग्रस्त सम्पदाहरू पुनर्निर्माणमा ढिलाइ भइरहेको पनि देखिन्छ।

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरूमा प्रतिकूल असर पर्ने गरी थानकोट र चित्लाङ सडक खण्ड निर्माण कार्य अघि बढाएको पनि स्थानीय बताउँछन्। बाटोमा सम्पदाहरू लथालिंग अवस्थामा छाडेको भेटिन्छ।

चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन्। चित्लाङ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँहो। त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिले नुहाउने सप्तश्रीधारा पनि चित्लाङको सम्पदा रहेको स्थानीयबासी बताउँछन्।

पर्यटकको ओइरो

यस ठाउँमा मानिसहरूको चहलपहल देखिएसँगै होमस्टे संख्या बढ्दै गएको छ। पछिल्लोपटक होमस्टेहरू धमाधम थपिएपछि यस क्षेत्रमा घुम्न आउने, हिँडेर आउने पर्यटक संख्या बढेको स्थानीयबासी एवं गुर्जुधारा होमस्टेका होमस्टे सञ्चालक बुद्धरत्न मानन्धर बताउँछन्।

चित्लाङमा २०६८ सालमा ४ घरबाट होमस्टे शुरू भएको थियो। चित्लाङमा पर्यटकको संख्या वृद्धि हुँदै जाँदा होमस्टेको संख्या एक दर्जन पुगिसकेको छ। चित्लाङ होमस्टेसँगै नयाँरिसोर्ट पनि खुल्न थालेको छ।

‘शुक्रबार, शनिबार र आइतबार पर्यटकको भीड हुन्छ’, होमस्टेका सञ्चालक मानन्धरले भन्नुभयो– ‘३० जनासम्म अटाउने होमस्टे एक वर्षदेखि खाली राख्नुपरेको छैन।’

होमस्टेले नधानेपछि विस्तारै होटल खुल्ने क्रम बढेको हो। ‘यहाँआधा दर्जन त रिसोर्ट नै खुलिसकेका छन्। रिसोर्टका कारण होमस्टेको मोलिकतामा भने असर पर्दै गएको छ।’ –मानन्धरले भन्नुभयो।

जिल्लाको ऐतिहासिक स्थानका रूपमा रहेको चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ। विशेषतः चित्लाङ गाउँमा नेवाः समुदायभित्र पर्ने बलामीको पुख्र्यौली बासस्थान मानिएको छ। यसका पछि क्रमशः तामाङ र क्षत्रीहरूको बसोबास रहेको छ।

बलामीहरूले वैशाख पञ्चमीमा कुल देवताको पूजा गर्ने गर्छन्। बाह्रवर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५ सय वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरू हुन्।

चित्लाङ पुगेपछि धेरै पर्यटक जंगल सफारी, गाउँघरको वातावरण अध्ययन अवलोकन गर्न रुचाउने गरेको छ। पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा हाइकिङ अर्थात् पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ।

चित्लाङ प्राकृतिक र सांस्कृतिक वातावरणका हिसाबले रमणीय भएकाले पटक–पटक हाइकिङ आउने गरेको ललितपुर नकबहीका सुमन शाक्यले बताउनुभयो।

चित्लाङ पुगेपछि पर्यटकलाई हाइकिङ गर्ने स्थल धेरै छन्। चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालसम्म हाइकिङ गर्न सकिने पनि शाक्यले बताउनुभयो। विद्युत् आपूर्ति गर्दै आएको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो।

यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत् उत्पादन गरिन्छ। जलविद्युत् आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रका रूपमा विकसित भएको छ। कुलेखानी अर्थात् इन्द्रसरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ। तर पनि चित्लाङ पुग्ने धेरै पर्यटक हाइकिङ गर्दै जान रुचाउँछन्।

थाहा नगरपालिका–९ चित्लाङका वडाध्यक्ष पर्शुराम श्रेष्ठले यस क्षेत्रको प्राकृतिक मनोरम दृश्य, ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको जानकारी दिनुभयो। चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।

सम्पदा बस्ती घोषणा गर्न माग

कुनै बेला वास्ता नगरिएको चित्लाङका प्राकृतिक छटा, ऐतिहासिक र सांस्कृतिक चि≈नहरू अहिले स्वदेशी र विदेशी पर्यटकलाई चित्लाङतर्फ तान्न सक्ने सामथ्र्यका रूपमा स्थानीयले देखिरहेका छन्। चित्लाङसँगै टिस्टुङ, पाल्लुङलगायत आसपासका क्षेत्रहरू समेटिएर सम्पदा बस्ती र मार्ग बनाउनुपर्ने पनि स्थानीयबासीको माग रहेको छ।

टिस्टुङस्थित इकुटोल पालचोकमा लिच्छवी राजा अशुंवर्माले संवत् ४२३ मा राख्न लगाएको शिलालेख भटुवालको शिलालेख, अन्य ऐतिहासिक दस्तावेज रहेको भवनलाई संग्रहालका रूपमा परिणत गर्न स्थानीयबासी अग्रसर भइरहेका छन्।

त्यसै गरी कुन्छालको शिलालेख, टौखेल पाटीको शिलालेख, चित्लाङ भैरवस्थानको शिलालेख पनि हाल संरक्षणविहीन अवस्थामा रहेको पाइएको छ। सांस्कृतिक वा इतिहासको अध्ययन वा मनोरम दुवैका हिसाबले यस क्षेत्र पर्यटकीय गन्तव्यस्थल बनाउन सकिनेमा स्थानीयबासी र राजनीतिक दलहरू एकमत रहेका छन्।

‘यस गाउँलाई रमाएर हेर्न मात्र होइन, रुचिपूर्वक पढेर इतिहास र सांस्कृतिक बुझ्न सकिन्छ।’ ललितपुरबाट हाइकिङ आउनुभएका सुकिस बज्रचार्यले भन्नुभयो– ‘यहाँको संस्कृति र प्राकृतिक वातावरण कायम गर्दै विकास गरेमा चित्लाङ र आसपासका बस्ती चित्ताकर्षणको बस्ती हुनेछ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्