सयौं चित्रमा वाङ्मय शताब्दी पुरुष जोशी



न्युज अफ नेपाल, ललितपुर ।

संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीका सयौ चित्रहरु कोरिएको छ । जोशीको सम्मानमा आज आयोजित वाङमय शताब्दी पुरुष राष्ट्रिय चित्रकला प्रतियोगितामा सयौं चित्रकारहरुले प्रत्यक्ष चित्र कोरेका हुन् ।

योङ पिकासोको प्रस्तुती तथा सहयात्रा र श्री शान्ति विद्याश्रमको आयोजना आयोजित पुरुष राष्ट्रिय चित्रकला प्रतियोगितामा तीन सयभन्दा माथि चित्रकारहरुले सहभागिता जनाएका थिए । तेह्र बर्षसम्मको उमेर समूहमा एक सय असी, खुल्ला समूहमा एक सय दश र बिस जना अतिथी चित्रकारहरुले शताब्दी पुरुष जोशीको चित्रहरु कोरेका थिए ।

प्रतियोगितामा उमेर समूहतर्फ सुसन जाति प्रथम, सर्वेद महर्जन दोश्रो र र सम्बृद्ध राणा तेश्रो भएका छन् । उनीहरुलाई क्रमश नगद रु १२ हजार, ८ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो । खुल्ला समूहतर्फ रोशन डंगोल प्रथम, शुसन महर्जन दोश्रो र सुवोध सिवाह सिम्बा तेश्रो भएका छन् । उनीहरुलाई क्रमश नगद राशी २० हजार, १५ हजार र १० हजारबाट पुरस्कृत गरिएको थियो । समारोहमा वाङमय शताब्दी पुरुष राष्ट्रिय चित्रकला सम्मान २०२० बाट वरिष्ठ चित्रकार गोबिन्द नारायण ज्यापूलाई सम्मान गरिएको थियो । ज्यापूलाई १० हजार एक सय नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सय बर्ष उमेरका धेरै भएपनि देशलाई योगदान गर्ने संस्कृतिविद्को जोशीका विषयमा हप्तौ चर्चा गर्न सकिने बताउनुभयो । शताब्दी पुरुषको कोरिएका चित्रले उहाँलाई सदा जीवन्त बनाउन भूमिका खेल्ने बताउनुभयो । समारोहका अध्यक्ष अजरमान जोशीले सत्यमोहन जोशीको योगदान चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा आयोजकका तर्फबाट नवनिर्वाचित सभामुखलाई विशेष सम्मान गरिएको थियो । उमेर समूहका चित्रहरुमध्ये उत्कृष्ट ३० चित्रहरुलाई माघ २४ देखी २७ गतेसम्म प्रदर्शनीमा राखिने कार्यक्रम निर्देशक अजय देशारले बताउनुभयो । उक्त प्रदर्शनीमा ८० देशका बालचित्रकारहरुका चित्रहरु पाटन संग्रहालयमा प्रदर्शित गरिने कार्यक्रम संयोजक बाल मुकुन्द आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम ललितपुरको पाटन संग्रहालयको भण्डारखाल बगैंचामा संचालन भएको थियो । समारोहमा प्रतिनिधि सभाका सांसदहरु कृष्णलाल महर्जन तथा नवराज सिलवाल, बाग्मती प्रदेशका सांसदहरु सोभा शाक्य तथा राजकाजी महर्जन, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, ललितपुरका सिडियो भागिरथ पाण्डे लगायत वरिष्ठ चित्रकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्