काठमाडौँद्वारा मध्यपुर थिमीलाई १ करोड अनुदान



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि उपलब्ध गराएको उक्त अनुदान रकम बुधबार काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले थिमीका नगर प्रमुख मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । नगर प्रवेशद्वार नजिक आयोजना गरिएको सम्झौता तथा रकम हस्तान्तरण पछि मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा मेयर शाक्यले कामपासंग साझेदारी काठमाडौं जिल्लाबाहिरका नगरसँगको पहिलो भएको उल्लेख गर्नुभयो । काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न १– १ करोड रुपैयाँ अनुदान दिएका छौं । हामी महानगरको व्यवस्थापनसँगै आसपास अन्य नगरसँगको साझेदारिताबाट बिकासमा साझेदारिता गरिरहेका छौं –उहाँले भन्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरबासीलाई लाभ पुग्ने बताउनुभयो । नगरको समृद्धिकालागि हामीले आन्तरिक र बाह्य दुवै प्रकारका श्रोत परिचालन गरेका छौं, मेयर श्रेष्ठको भनाइ थियो । थिमी नगरपालिका वडा ४ का अध्यक्ष कुमार श्रेष्ठले महानगरको सहयोगमा आफ्नो वडामा ठूलो योजना सञ्चालन हुने भएकोमा खुशी लागेको बताउनुभयो । पार्क निर्माणका लागि १७ करोड रुपैयाँको गुरुयोजना तयार पारिएको छ । शुरुमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ । त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्