चिठ्ठाको नाममा ठगी धन्दा चलाउने गिरोह पक्राउ



सरोज यादव, विराटनगर ।

चिठ्ठा पर्छ भन्दै सर्वसाधारणबाट रकम असुल गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

चिठ्ठा मार्फत ठगी गरेको आरोपमा जहदा गाउँपालिका –२ का ३० वर्षीय किसनदेव साह, उनका सहयोगी रंगेली नगरपालिका –६ नयाँटोलका २२ वर्षीय कम्लेश कुमार मण्डल, जहदा –७ का ४५ वर्षीय राजेशकुमार साह,जाहेरवालाहरू श्रवणकुमार महतो र सुर्यानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । किसनदेव साहले जिल्ला प्रशासन कार्यालय मोरङमा अमन समाज नेपाल कटहरी–१ मोरङको नाममा संस्था दर्ता गरेको र अरुको सहयोगमा आधिकारीक सरकारी निकायको इजाजत नलिई गैरकानूनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरु चिठ्ठामा पर्छ भनि सर्वसाधरण मानिसहरुबाट रसिद काटी रकम असुल गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

उनीहरुले आफ्ना बिभिन्न एजेन्टहरु मार्फत बिभिन्न मानिसहरुबाट रकम उठाई अन्तिम १६ औँ किस्ता सम्ममा पटक–पटक गरेरे झण्डै ४९ लाख बराबर पैसा उठाएको पाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । उनीहरुले अमन नेपाल संस्थाको आडमा बिराटनगर – ४ स्थित श्याम साहले संचालन गरेको श्याम पार्टि प्यालेशमा महिनामा २ पटकको दरले चिठ्ठा खोल्ने, चिठ्ठाका लागि प्रतिव्याक्ति ३८० रुपैया उठाउने र पार्टी प्यालेसलाई ७ हजार रुपैँया भाडा दिने गरेको खुलेको छ ।

उनीहरुले सेटिङमा चिठ्ठामा उल्लेखित सस्तो कुराको चिठ्ठामा पार्ने र महंगो कुराको नपार्ने गरेको पाईएको एसपी अधिकारीले बताउनुभयो । गैह्रकानुनीरुपमा चिठ्ठा सञ्चालन गर्ने गरेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गत पुस २८ गते किसन देव साह, कम्लेश कुमार मण्डल, राजेश कुमार साहलाई संस्था रहेकै स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका किसन देवले जाहेरवालाहरू मध्येका श्रवणकुमार महतो र सुर्यानन्द महतो पनि मसँग चिठ्ठा कार्यमा आवद्ध छन्, अमन समाज नेपाल संस्थामा शेयर होल्डर बन्ने शर्तमा साझेदारी भई जिम्मेवार व्यक्तिको रूपमा काम गरेका मानिसहरू हुन भनेर बयान दिएका थिए । उनले निजहरूले चिठ्ठा काटेर राखेको ९०/९० हजार रुपैँया आफुलाई नदिई काम गर्नलाई मोटरसाइकल चाहिन्छ भनेर मागेको तर त्यसमा असमर्थता जनाएपछि ६ महिनासम्म काम गरेर छाडेको पनि केहिदिन मात्र भएको बताएका थिए । उनको बयानको आधारमा मोरङ जिल्ला अदालतबाट अनुमति लिई श्रवणकुमार महतो र सुर्यानन्द महतोलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

प्रहरीले १ तोला लेखिएको छाप, अमन समाज लेखिएको अफिसको छाप, ल्यापटप, मोवाईल , ३६ थान अंक लेखिएको बिल, १३ थान टिकट बुक, १० थान अमन समाज नेपाल लेखिएको बाहिर गाडीहरूको चित्र भएको किताब, २० थान अमन समाज नेपालको सेवाग्राही सदस्य फारम लगायत बरामद गरेको छ । यस मुद्दामा चिठ्ठा सम्बन्धी ऐन २५ को दफा २ बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्