शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट



यमलाल भुसाल, बुटवल ।

शाइन रेसुंगा डेभलपमेण्ट बैक लि. र बांकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिने छ ।

सम्झौता पत्रमा शाइन रेसुंगा डेभलपमेण्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गर्नु भएको हो । सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै शाइन रेसुंगाले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा सहित अन्य सेवा थप्दै जाने नीति अनुसार नेपालगञ्ज मेडिकल कलेजसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताउनु भयो ।

प्रदेश ५ का १० जिल्लामा मात्रै बैंकका तीनलाख ८१ हजार जना ग्राहक छन् । प्रदेश ५ मा सबैभन्दा धेरै ग्राहक संख्या भएको प्रदेशको पहिलो राष्ट्रियस्तरको बैंकसंग सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक कनौडियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्