ज्ञान निकेतनको विजयी शुरूआत



काठमाडौं, (नेस)।

आयोजक ज्ञान निकेतनले १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार विजयी शुरूआत गरेको छ।शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले डिफेन्डिङ च्याम्पियन टाइम्स इन्टरनेसनल कलेजलाई ५१–४५ ले पराजित गर्यो। टोलीको जितमा मनीष तामाङले १७ अंक जोडे।

शुरूका तीन क्वार्टरमा ज्ञान निकेतनले १२–८, ८–७ र ९–७ को अग्रता लियो। चौथो तथा अन्तिम क्वार्टरमा टाइम्सले २३–२२ को अग्रता लिए पनि जितका लागि पर्याप्त हुन सकेन।

अन्य प्रतिस्पर्धामा सीसीआरसीले रोशन श्रेष्ठको १६ अंकको सहयोगमा रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४८–३४ ले हरायो। ह्वाइटहाउसले बर्न हार्टमाथि ५२–२८ माथि सहज जित दर्ता गर्यो। ह्वाइटहाउसका यादव निरञ्जनले १४ अंक जोडे। नोबेल एकेडेमी विरुद्धको खेलमा इन्साइट भिजन २६–२४ को झिनो अन्तरले विजयी भयो।

प्रतियोगिताको ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कँुवरले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे।
सो अवसरमा विश्व प्रख्यात बास्केटबल खेलाडी ब्रायन्ट कोबीको निधनमा खेलाडीलगायतले एक मिनेट मौन धारण गरेका थिए। माघ २१ गतेसम्म चल्ने प्रतियोगिताको प्लस टु ब्वाइजमा १६ तथा स्कुलतर्फ ब्वाइजमा ८ गरी २४ टिम सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्