अखिलका विद्यार्थीबीच झडप



इलाम, (नेस)।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियुका विद्यार्थीबीच इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार साँझ झडप भएको छ। अखिलका विद्यार्थीबीच भएको झडपमा क्याम्पसको भौतिक संरचनासमेत तोडफोड भएको छ।

क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी खोल्ने र नखोल्ने विषयमा अखिलका विद्यार्थीबीच झडप भएको हो। झडपका क्रममा क्याम्पसको झ्यालका सिसा फुटेको छ।

केही विद्यार्थी घाइते भएको भनिए पनि दुवै पक्षले झडपमा कोही पनि घाइते नभएको जनाएका छन्। क्याम्पसले टाँस गरेका सूचनासमेत च्यातिएको छ।

क्याम्पसजस्तो शैक्षिक संस्थामा अभद्र गतिविधि गरिनुले सिंगो शैक्षिक केन्द्रलाई आक्रमण भएको लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष शुक्रराज माबो लिम्बूले बताउनुभयो।

घटनाको बारेमा प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले वास्ता नगरेको क्याम्पस प्रमुख रामप्रसाद गुरगार्इँले बताउनुभयो। अखिलका विद्यार्थीबीच भएको झडपमा क्याम्पसमा तोडफोड भएको भए पनि अखिलले भने अज्ञात समूहले तोडफोड गरेको जनाएको छ। प्रहरी भने लिखित उजुरी खोजेर बसेको थियो। महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लामो समयदेखि आन्दोलन भइरहेको छ।

क्याम्पसमा क्याम्पस प्रमुखको राजीनामा माग्दै १८ बुँदे माग गर्दै अनेरास्ववियुले प्रमुखको कार्यकक्ष, सहायक प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ। यसबाट विद्यार्थीको भर्ना र परीक्षा फारम भर्न समस्या भइरहेको छ। समस्या समाधान गराउन सम्बन्धित निकाय लाग्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया दिनुहोस्