संरक्षणको पर्खाइमा गुम्बालुङ



नानीराम नेपाल, सिन्धुपाल्चोक।

प्राकृतिक सुन्दरताले भरिपूर्ण, झाडी र जंगलकाबीच चट्टाने पहरोमा आस्था र विश्वासको लहरो बनेर झुन्डिरहेको छ गुम्बालुङ।
अलौकिक किसिमका ढुंगा, प्रकृतिले नै बनाइदिएका सुरुङभित्र धार्मिक विश्वासको धरोहर बनेर ठिंग उभिएको छ एउटा चट्टान अर्थात् थगामवासीका भगवान !
हरसाल मनोकांक्षा लिएर हजारौं तिर्थालुहरू बाह्रविसे नगरपालिका ७ स्थित गुम्बालुङ महादेवको शरणमा पुग्छन्। गुम्बालुङ महादेवको दर्शनपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रही आएको छ।

भाद्र पूर्णिमाका दिन गुम्बालुङमा तिर्थालुको भीड लाग्ने गर्दछ। भाद्र पूर्णिमाका दिन टाढाटाढादेखि मानिसहरू मनोकांक्षा लिएर गुम्बालुङमा पुग्ने गरेका छन्।

‘भाद्र पूर्णिमाका दिन हजारौं मानिसहरू गुम्बालुङ आइपुग्छन्, यहाँ आएर जे माग्यो त्यो पुरा हुन्छ भन्ने विश्वास छ’, थगामका स्थानीय सागर तामाङले भन्नुभयो।

गुम्बालुङ धार्मिक आस्थाको धरोहर मात्र हैन, पर्यटकीय दृष्टिले पनि प्रचुर संभावना बाकेर बसेको छ। जंगल र झाडीका बीच बडेमानको चट्टानमुनि झण्डै १० मिटर  लामो सुरुङ छ। वर्षायाममा त्यही सुरुङबाट पानी निस्कन्छ। सुरुङबाट निस्कने पानीलाई गुम्बालुङ महादेवको प्रसाद अर्थात् पवित्र जलका रुपमा तिर्थालुहरूले बोतलमा भरेर फर्कन्छन्।

जंगल बीचको एकान्त र शान्त ठाउँ गुम्बालुङ तपस्याका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको थगाम युवा क्लबका अध्यक्षसमेत रहेका सागर तामाङ बताउनुहुन्छ।सुरुङको छेवैमा प्राकृतिक द्वार छ, त्यही द्वारालाई धर्मद्वाराका रूपमा लिने गरिएको छ।

त्यही द्वारबाट छिरेर मानिसहरूले पाप÷पुण्यको परीक्षण गर्ने गरेका छन्। प्राकृतिक द्वाराबाट छिर्न सके पुण्य महसुस गरेर तिर्थालुहरू फर्कन्छन्।
धर्मद्वारमा घन बर्जादा जब पहिरो खस्यो

तीन दशकअघि गुम्बालुङ महादेवको दर्शनका लागि पुगेका थगामका एक स्थानीय धर्मद्वारमा छिर्न खोजे। धेरै प्रयास गर्दा पनि उनी धर्मद्वारबाट निस्कन सकेनन्। सँगै गएकाहरू धर्मद्वारबाट निस्कँदा आफू मात्रै छिर्न नसकेपछि ती स्थानीयले रिसको आवेगमा धर्मद्वारमा घन बजारे।

धर्मद्वारमा घनले हान्दा गुम्बालुङमाथिको चट्टान खसेर पहिरो गयो। पहिरोले त्यसबेला ठूलो क्षति गरेको स्थानीय अग्रजहरू सुनाउँछन्।
‘धर्मद्वारमा जब घन बज्रियो, पहाडै खसेर आयो’, –सागरले सुनाउनुभयो।

वर्षौंदेखि ओझेलमा गुम्बालुङ

धार्मिक पर्यटनको सम्भावना बोकेको गुम्बालुङ वर्षांैदेखि ओझेलमा परिरहेको छ। संरक्षण र प्रवद्र्धनको पर्खाइमै बसिरहेको छ गुम्बालुङ।
समयक्रमसँगै थगामवासीको जनजीवन फेरियो तर धार्मिक पर्यटकीय गन्तव्य गुम्बालुङको अवस्था उस्तै छ।

बाह्रविसे बजारबाट २१ किलोमिटर ग्रामीण सडक छिचोलेपछि थगाम पुगिन्छ।थगामबाट झण्डै ४५ मिनेटको पैदल यात्रापछि गुम्बालुङ पुगिन्छ। स्थानीयले श्रम गरेरै थगामको गाउँबाट झण्डै ४ सय मिटर सिँढी बनाए, त्यसमाथिको गोरेटो बाटोसम्म बन्न सकेको छैन।

झाडी छिचोल्दै जानुपर्ने अवस्था छ। थगामबाट गुम्बालुङसम्म सिँढी बनाउने योजनामा स्थानीय छन्। गुम्बालुङ क्षेत्रमा घेराबार गर्दै संरक्षण गर्ने योजना बनाइए पनि श्रोत अभावमा घेराबार र सिँढी निर्माणको काम गर्न नसकिएको स्थानीय हिमाल तामाङ बताउँछन्।

सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहँदा गुम्बालुङ क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउनुपर्ने स्थानीयको माग छ। गुम्बालुङ क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि बाह्रविसे नगरपालिकामा प्रस्तावसमेत पेस गरिएको थगाम यूवा क्लबका अध्यक्ष सागर लामा सुनाउँछन्।

गुम्बालुङ क्षेत्रले धार्मिक पर्यटकीय विकासको सम्भावना बोकेको भन्दै यस क्षेत्रको संरक्षणका लागि बाह्रविसे नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

स्थानीयको माग र गुम्बालुङ क्षेत्रको सम्भावना पहिचान गर्दै आवश्यक योजना ल्याउने बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा बताउनुहुन्छ। ‘गुम्बालुङ क्षेत्रको विकास र संरक्षणका लागि हामी एउटा योजनाका साथ अघि बढ्नेछौं’, –मेयर शेर्पाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्