इमानदार चालक सम्मानित



भक्तपुर, (नेस)।

महानगरीय प्रहरी वृत्त जगातीले एक जना इमानदार चालकलाई सम्मान गरेको छ। भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका४ घर भएका सूर्य श्रेष्ठलाई हराएको पैसासहितको झोला फिर्ता गरेकोमा मंगलबार कार्यालयमा सम्मान गरेको हो।

झोला हराउने टंक खनालका तर्फबाट उनका ज्वाईं खतिवडाले नगद ५ हजारसहित सम्मान गरेका छन्।माघ १२ गते राति श्रेष्ठले चलाएको बस पार्किङ गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला खोलेर हेर्दा महत्वपूर्ण कागजपत्र देखे र झोलामा सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर भएको देखेपछि फोन गरे।

झोला धनी थिए टंक खनाल। अमेरिका बस्दै आएका खनाल छोराहरूको ब्रतबन्ध गर्न नेपाल आएका बेला भक्तपुर घुम्ने क्रममा उनको झोला बसमा छुटेको थियो।झोलामा नगद १ लाख ४७ हजार ७५ रुपियाँ रहेको थियो।

झोला छुटेको गाडी अर्कै बा३ख २१४७ थियो। जसमा खनाल भक्तपुरको गठ्ठाघरबाट चढेर नेपाल एयरलाइन्सको कार्यालय रत्नपार्क आगाडि झरेका थिए। प्रहरीले सोमबार खनालको झोला छुटेको बा ३ ख २१४७ बसको चालक र सहचालकलाई नियन्त्रणमा लियो।

त्यसपछि झोला छुटेको बसका चालकले प्रहरीसमक्ष आफूले पैसा झिकेर झोला सूर्य श्रेष्ठको गाडीमा छोडेको बयान दिए। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराजजोशीका अनुसार झोला छुटेको बसका चालकले उक्त रकमबाट रु.१५ हजारको मोबाइल किनेको र ५ हजार अन्य खर्च गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्