पर्यटन वर्ष : चुनौती र उत्साह



बीस लाख पर्यटक ल्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाइँदै छ। नेपाल पहिलेदेखि नै पर्यटकीय गन्तव्यका रूपमा चिनिदै आएको छ। त्यसकारण विगतमा पनि नेपाल भ्रमण वर्षका कार्यक्रम भएका थिए। तर, यसपटकको कार्यक्रम विशेष छ। किनकि, देशमा राजनीतिक स्थायित्वपछि यो कार्यक्रम सञ्चालन भइरहेको छ।

तर, यसमा जति उत्साह छ चुनौती पनि उत्तिकै छ। नेपालमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यही एउटा विमानस्थललाई पनि हामीले व्यवस्थित बनाउन सकेका छैंनौं। भिसाका लागि घन्टौं लाइन बस्नुपर्ने, लगेज प्राप्त गर्न समस्या हुने र फोहोरका कारण नेपालको विमानस्थल विश्वमै बदनाम छ। विमानस्थलमा विगतमा भन्दा केही सुधार त भएको छ तर अपेक्षाअनुरूप काम हुन सकेको छैन।

लक्ष्यअनुसार पर्यटक भित्र्याउन पूर्वाधार र प्रचार नै मुख्य आधार हुन्। नेपालमा धेरैजसो पर्यटक यहाँका पहाड र हिमालसँग रम्न आउने गर्दछन्। पूर्वाधारको क्षेत्रमा पनि धेरै कमजोरी छ। पहाडी गन्तव्यका सडकहरू जोखिमपूर्ण छन्।

पर्यटकीय गन्तव्यहरूमा आधारभूत सेवा/सुविधा पुग्न सकेका छैनन्। स्थानीय तहहरूसमेत यसमा केन्द्रीत हुनुपर्ने अवस्था छ। पूर्वाधार र राम्रो सेवा हुने हो भने पर्यटक खोज्न हामी टाढा जानै पर्दैन, दुई छिमेकी देशका पर्यटकले नै २० लाखको लक्ष्य पूरा हुन सक्छ।

धेरै विदेशी नेपाल आउने अर्को कारण भनेको नेपालमा हरेक कुरा सस्तो छ। त्यसकारण कम खर्च गर्ने पर्यटकहरू नेपालमा धेरै आउने गरेका छन्। तर कतिपयले पर्यटकलाई ठगी गर्ने प्रवृत्ति पनि बढेको छ। यस्ता गतिविधि नियन्त्रणका लागि पनि संयन्त्रको जरुरी छ।

राज्यका निकायबाट नै भ्रमण वर्षलाई सफल बनाउन मेहनत गर्नुपर्ने हुन्छ। देशका ब्रान्ड एम्बेसडर भनेका नेपाली राजदूतहरू हुन्। जुन देशबाट नेपालमा धेरै पर्यटक आउँछन्, त्यहाँ नेपालको दूतावास छन्। राजदूतहरूले देशका लागि केही गरेर देखाउने बेला भनेको यही हो।

ती देशका समेत सहयोग मागेर उनीहरूले सक्दो प्रचार गर्नुपर्छ। परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई पर्याप्त स्रोत–साधन दिएर यो वर्ष खटाउनु जरुरी छ। एयरलाइन्स कम्पनीहरूको हकमा विदेशी नागरिकको हवाई शुल्क उच्च राखिएको छ। जुन एकदमै गलत छ। एयरलाइन्सको यो गलत धन्दा सरकारले रोक्नै पर्छ।

यसले पर्यटकहरूमा गलत सन्देश गएको छ। नेपालको आन्तरिक उडानमा पर्यटकहरूले ठगिनुपरेको छ। देशलाई प्रकृतिले त उपहार दिएको छ नै, अब देश बनाउन जनताले पनि एकपटक मेहनत गर्नुपर्ने बेला आएको छ। नेपाल घुम्न आउने पर्यटकलाई सर्वसाधारणले अतिथि देवोभवकै मर्मअनुसार व्यवहार गर्न सके त्यो नै यस वर्ष पर्यटन बढाउने सबैभन्दा ठूलो माध्यम हुनेछ।

आतिथ्यताकै कारण एकपटक आएका पर्यटक अर्को वर्ष पनि आउने सम्भावना हुन्छ र उनीहरूले नेपालको बारेमा आफ्नो देशमा गएर प्रचार गर्छन्। पर्यटक संख्या बढाउने सबैभन्दा प्रभावकारी शैली यही नै हो। अन्य क्षेत्रमा लगानी गरेर देश विकासको बाटोमा जान धेरै वर्ष लाग्न सक्छ, तर पर्यटनबाट समृद्धिको लक्ष्य छिटो प्राप्त हुन्छ।

पूर्वाधारको विकास, पर्यटकहरूलाई उत्कृष्ट सेवा र प्रभावकारी प्रचार नै पर्यटन वर्षलाई सफल बनाउने आधार हुन्। त्यसकारण सरकार मात्र होइन नागरिकको पनि यसमा उत्तिकै दायित्व छ। पर्यटन वर्ष सफल हुनु भनेको नेपालमा २० लाख पर्यटक आउनु मात्र होइन, सुखी नेपाली, समृद्ध नेपालको ढोका खोल्ने ठूलो अवसर पनि हो।

– समीर लुइँटेल,
बानियाटार, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्