सभामुख सापकोटा विरुद्धको बहस हेर्दा हेर्दैमा कारण देखाउ आदेश



न्युज अफ नेपाल, काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
द्वन्द्वकालीन घटनाका सन्दर्भमा हत्या गरेको आरोप लागेका भन्दै सापकोटालाई सभामुख नियुक्त नगर्न अन्तरिम आदेशको मागदाबी गरिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश भने जारी गर्न मानेन ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए ।

सोमबार बहस नसकिएपछि रिटको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि न्यायाधीश मल्लको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्‌भार समेत सम्हालिसकेका छन् । सापकोटाले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गरिसकेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका सापकोटाले सोमबार नै पद्भार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्