धर्मभक्तको सालिक अनावरण



नेपाल समाचारपत्र, काठमाडौं।

शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा उहाँको पूर्ण कदको सालिक प्रतिस्थापन गरिएको छ। शहीद सप्ताहको दोस्रो कार्यक्रम माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महानगरका प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले सालिक अनावरण गर्नुभएको हो।

सालिक कलाकार महेश तुलाधरले तयार पार्नुभएको हो। पहिलो पटक २०५३ माघ १३ गते नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले अहिलेको स्थानभन्दा करिब ५ मिटर पूर्वमा अनावरण गर्नुभएको सालिक अर्धकदको थियो। सडक विस्तारका क्रममा सालिक भत्काउनुपर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो। यसरी सार्ने क्रममा पुरानो कालो रंगको अर्ध कदको प्रस्तर सालिकको सट्टा नयाँ सेतो रंगको ढलोटको सालिक बनाइएको थियो।

गएको वर्ष सालिकलाई भण्डारेश्वर धार्मिक सेवा समितिले सुनौलो रंग लगाएको थियो। यस वर्ष महानगरले ८ लाख ५ हजार भ्याटसहित लागतमा सालिक र अन्य पूर्वाधारसहित करिब १७ लाख रुपियाँ लागतमा पूर्णकदको कालो रंगको सालिक निर्माण गराएको हो।

सालिक अनावरणपछि बोल्दै मेयर शाक्यले भन्नुभयो– ‘शहीद त धरै छन् तर नाम भन्ने बेला चार शहीदको नाम आउँछ किनभने उहाँहरूले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामूहिक समृद्धिका लागि ज्यानको बाजी लगाउनुभयो।’

सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले शहीदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गर्नुभयो।
सभामा बोल्दै शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले महानगरले शहीदहरूको पूर्ण कदको सालिक निर्माण गर्न लगाएपछि शहीदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन सजिलो भएको विचार राख्नुभयो।|

‘शहीदको बलिदानी सम्झना गर्ने गराउने दिशामा महानगरले गरेको काम प्रशंसनीय छ, सालिक निर्माण गर्न लगाउनु त्यसको उदाहरण हो।’ –आफ्नो धारणा राख्ने क्रममा माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेले खुसी व्यक्त गर्दै भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्