पूर्वराजा भारततर्फ



नेपाल समाचारपत्र, भद्रपुर।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन्। मध्यान्ह १२ बजे काँकडभिट्टाबाट सिक्किम प्रस्थान गरेका हुन्। स्र्रोतका अनुसार दमक बस्दै आएका पूर्व राजा शाह केही दिनका लागि दार्जिलिङ र सिक्किम घुम्न गएको बुझिएको छ।

डब्लू बी ७६ ए ८८२७ नम्बरको सेतो रङको कार र अर्को एउटा कारसमेत गरी दुईवटा कारमा पूर्व राजा शाह, उनकी पत्नी कोमल पुसदेखि दमकस्थित चिया बगानको आफ्नै दरबारमा बस्दै आएका थिए।

आइतबार दमकदेखि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको परिसरमा सुरक्षाकर्मीहरूको साथमा आएका उनी भारतीय नम्बर प्लेटको कारमा चढेर मेची पुल पार गरेका थिए।

काँकडभिट्टामा पूर्व राजा आउने धेरैलाई थाहा नभए पनि उनको स्वागतका लागि केही समर्थकहरूको सहभागिता थियो। पाँच मिनेटसम्म पनि बस्न नभ्याएका उनलाई केही समर्थकहरूले सयपत्री फूलको माला लगाइदिएका थिए। समर्थकहरूका अनुसार पूर्वराजा शाह सिलिगुडी, दार्जिलिङ हुँदै सिक्किम धार्मिक तथा निजी भ्रमणमा निस्किएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्