शहीद सप्ताह शुरु इतिहास सम्झँदै गढीमा एकदन्ता हात्ती



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरमा सप्ताहव्यापी रूपमा मनाउन शहीद दिवस विविध कार्यक्रमसाथ शुक्रबार शुरु भएको छ। शुक्रबार बिहान पदयात्रा गरेर शहीद सप्ताह औपचारिक रुपमा शुरु भएको हो।बागमती प्रदेशका मुख्यमन्त्री एवम् शहीद स्मारक विकास समिति अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट शुरु भएको पदयात्रामा शहीद स्मारक पुगेर सम्पन्न भएको जिल्ला हो।

शुक्रबार नै मकवानपुरगढी दरबारमा २ सय ५७औं विजयउत्सव मनाइएको छ। मकवानपुरगढीमा मुख्यमन्त्री पौडेलले झण्डात्तोलनसहित एकदन्ता सेतो हात्तीको मूर्ति अनावरण गर्नुभयो।ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयउत्सव मनाइएको हो। मुगल वादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयउत्सव मनाइएको हो।

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयउत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा एकदन्ता सेतो हात्तीको प्रतिमा अनावरण गर्नुभएको थियो।विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयउत्सव मनाउने गरिएको छ।

गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २ सय ५७ वर्ष पुगेको दिन कार्यक्रम गरिएको हो। गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रूपमा यसलाई लिइन्छ।सरकारले घोषणा गरेका १ सय नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबैभन्दा ठूलो र पुरानो गढीका रुपमा छ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढीमा नेपालको राष्ट्रिय झण्डासहित संघीय नेपालको नक्सा राखिएको छ।कार्यक्रममा मुख्यमन्त्री पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभयो।

मकवानपुरगढीको विजयउत्सवका अवसरमा उहाँले गोर्खालीको साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको बताउनुभयो।पौडेलले पुर्खाहरूले निर्माण गरेको विभिन्न संरचना युवाले संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो। नेपालको रहनसहन, पुर्खाको योगदान, भौगोलिक अवस्था र विविधताका दृष्टिले समृृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी हुनु आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्