सुदूरपश्चिममा ‘चेली त्यार’ शुरू



विमल विष्ट, डोटी।

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरू भएको छ। विवाह गरेर पराइको घरमा गएकी छोरी चेलीलाई विभिन्न किसिमका परिकारहरू पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गरिएको छ।

बिबाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइती घरमा बोलाएर होस वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडोे) दिने चलन रहेको छ। आफ्नो माइती नभएका अर्थात आमा, बुवा, दाइ, भाउजु नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको शिखर नगरपालिका १ कपल्लेकी स्थानीय निलम थापाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात त्यार दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त माघ महिनाभरि बस्न मुस्किल हुन्छ, दुःख मात्रै हुन्छ।’ माइती पक्षका कोही नभएका छोरीचेलीहरू प्रायः यो महिनाभरि जंगलमा घाँस काट्न जादा होस् वा अन्य एकान्त ठाउँमा गएर बिरहका गीत गाएर बिताउने गरेको यहाँका स्थानीय महिलाहरू बताउँछन्।

माघ महिनाभरि यहाँका छोरीचेलीहरू कहिले माइती आउलान र तेरेमाडो अर्थात ‘चेली त्यार’ ल्याउलान भन्ने पर्खाइमा बस्ने गरेको केआईसिंह गाउँपालिका ५ की माधवी चन्दले बताउनुभयो।उहाँले भन्नुभयो– ‘बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् कि भन्ने आसले मन खुसी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन।अनि मन खिन्न हुन्छ, माघ महिना यसरी बित्छ छोरीको।’

सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्लाहरू अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेखि चल्दै आएको छ।छोरी धनी होस् वा गरिब नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा।

छोरीलाई दिइने त्यारमा सेल, मासलगायतको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षका लाई करिब हप्तादिन पुग्ने गरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाकी स्थानीय गौरीदेवी बलायरले बताउनुभयो।

‘एक छोरीको घरमा हप्ता दिन पुग्ने गरी त्यार दिनुपर्छ कसै कसैका त ५ देखि ७ छोरी हुन्छन् उनीहरूलाई साह्रै समस्या भइहाल्छ,’ उहाँले भन्नुभयो– ‘त्यार न दिऊँ नहँुने दिऊँ आफूलाई घरमा पछि खान पुग्दैन।’

डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ। यहाँका पहाडी जिल्लाहरूमा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ। माघे संक्रान्ति अर्थात माघ १ गतेबाट शुरु हुने यो तिहार माघ महिनाभरि चल्ने गर्दछ।

माघ महिनाभरि सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रसस्तै भेटिने गरेका छन्। माघे संक्रान्तिमा माइत आउन नपाएका छोरीचेली भेट्न माइतीघरका सदस्यहरू डोकोभरि रोटी अर्थात त्यार बोकेर छोरीकै घर पुग्ने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्