म पार्टीको जिम्मेवारीमा फर्कन्छु : पूर्वउपसभामुख



चिरञ्जीवी मास्के, दोलखा।

पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू पार्टीको जिम्मेवारीमा फर्कने र सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ।निजी भ्रमणको क्रममा दोलखा आउनुभएकी पूर्वउपसभामुख तुम्बाहाम्फेले सभामुखको विषय अब पुरानो भै सकेकाले त्यसबारे चर्चा गर्नु आवश्यक नरहेको बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको पार्टी कार्यालयमा भएको भेटमा पूर्वउपसभामुख तुम्बाहाम्फेले पार्टीले सभामुखमा उपयुक्त र सक्षम व्यक्तिलाई पठाएको पनि बताउनुभयो। तपाई अब अर्को नयाँ जिम्मेवारीमा जाँदै हुनुहुन्छ हो ?

भन्ने पत्रकारहरूको जिज्ञासामा पूर्वउपसभामुख तुम्बाहाम्फेले आफू पार्टीको जिम्मेवारीमा फर्कने उल्लेख गर्नुभयो। ‘म पहिले पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमै थिएँ र अब पनि केन्द्रीय सदस्यका रुपमा महत्वपूर्ण जिम्मेवारीमा फर्कन्छु।’ –तुम्बाहाम्फेले भन्नुभयो।

संविधानमा संसदीय फाँट र स्थानीय तहमा महिलाको प्रतिनिधित्व अनिवार्य गरेपछि महिला सहभागितामा बृद्धि भएको उहाँले बताउनुभयो। तर पनि अझै महिलालाई उपप्रमुख मात्र बनाउने परिपाटी हराउन नसकेको तुम्बाहाम्फेको भनाइ छ।

संविधान या पार्टीको विधानमा महिलालाई उप मात्र बनाउने कुरा छैन तर व्यवहारमा अझै त्यस्तै देखिएको छ पूर्वउपसभामुख तुम्बाहाम्फेले भन्नुभयो– ‘यो दुःखद् विषय हो।’ योग्यता, क्षमता र सक्रियताको आधारमा सबै ठाउँमा महिलाको प्रतिनिधित्व समान ढङ्गले हुनुपर्ने तुम्बाहाम्फेले बताउनुभयो।

स्थानीय तहलगायत महिलाको नेतृत्व भएको हरेक ठाउँमा राम्रो काम भएको उहाँले बताउनुभयो। स्थानीय तहमा महिलाको धेरै संख्या उपप्रमुखमा छ पूर्वउपसभामुख तुम्बाहाम्फेले भन्नुभयो– ‘उपप्रमुखले गर्ने न्याय निरुपण, अनुगमनलगायतका काम प्रभावकारी र सफल भएका छन्। पूर्वउपसभामुख तुम्बाहाम्फेले आफू लामो समय पार्टी राजनीतिबाट बाहिर भएकाले पार्टीका धेरै विषयमा जानकार नरहेकोे बताउनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्