पत्नीको साथले उदाएका कोबे



कविरस शर्मा, (नेस)।

कहिले आमा, कहिले दिदी–बहिनी अनि कहिले जीवन संगिनीका रुपमा कठिन परिस्थितिमा महिला पुरुषका लागि भाग्यशाली साबित हुने गरेको छ। त्यस्तै मध्येका एक थिए विश्व चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्ट।

सोमबार हेलिकप्टर दुर्घटनामा दिवंगत भएका कोबेलाई बास्केटबलका जादुगर मानिन्छ। कोबे विश्वप्रसिद्ध फोब्र्स म्यागजिनमा पनि पटकपटक धनाढ्य खेलाडीको सूचीमा अटाउने खेलाडी थिए।

विगत केही वर्ष अघिसम्म उनी विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडीहरूको सूचीको उत्कृष्ट दसभित्रै पर्दै आएका थिए। बास्केटबल खेलाडीहरूको नाम अंकित जर्सीहरूको बिक्री तथ्यांकलाई आधार मान्ने हो भने उनको क्रेज अत्यधिक रहेको पाइन्छ। उनले अमेरिकाको नेसनल बास्केटबल लिगमा लस एन्जेल्स लेकरबाट सन् १९९६ देखि २०१६ सम्म खेलेका थिए।

त्यसबाहेक कोबे सम्मिलित अमेरिकी बास्केटबल टोलीले सन् २००८ मा चीनमा सम्पन्न ओलम्पिकमा स्वर्ण जितेको थियो। कोबेको वर्तमान जति चर्चित छन्, त्यति नै विवादास्पद थियो उनको विगत। बास्केटबलका महान् हस्ती कोबे बास्केटबल कोर्टभित्र तथा बाहिर थुप्रै पटक विवादित बनेका थिए।

तर, पत्नी भेनेसा ब्रायन्टको साथले उनको साखलाई कहिले गिर्न दिएनन्। पाँच पटकका बास्केटबल विश्वविजेता टोलीका एक महत्वपूर्ण सदस्य कोबेमाथि सन् २००३ मा एउटा दुष्कर्मको आरोप लागेको थियो।

त्यो घटनाले विक्षिप्त कोबेलाई पत्नी भेनेसाले भने साथ दिइन्। चुनौतीपूर्ण परिस्थितिमा जीवन संगिनीको साथ पाएपछि कोबेले सफलतालाई पछ्याउँदै अन्ततः गर्विलो छवि बनाउन सफल भए।

विवाह अघिसम्म बास्केटबल कोर्टमा गुमनामीको जीवन बिताउने कोबेले विवाहपश्चात मात्र एकाएक काँचुली फेरेका थिए। त्यसैले उनले सफलताको श्रेय पत्नी भेनेसालाई दिने गर्थे। नेसनल बास्केटबल एसोसिएसन (एनबीए) को ‘मोस्ट ट्यालेन्टेड बास्केटबल प्लेयर’ बाट सम्मानित हुँदा लिइएको एक अन्तर्वार्ताका क्रममा उनले त्यसको श्रेय पत्नीलाई दिएका थिए। ब्रायन्ट र भेनेसाको पहिलो भेट सन् १९९९ भएको थियो। त्यतिबेला कोबे २१ तथा भेनेसा मात्र १७ वर्षकी थिइन्।

छ महिनाको प्रेमपछि सन् २००० मा इन्गेजमेन्ट तथा २००१ मा यी जोडी विवाह बन्धनमा बाँधिए। तर विवाह भएको दुई वर्ष नबित्दै सन् २००३ को डिसेम्बरमा एक १९ वर्षीया होटेल कर्मचारीलाई बलात्कार गरेको अभियोगमा कोबेले जेल सजाय भोग्नुपरेको थियो। एक्कासि भएको उक्त घटनाले ब्रायन्ट दम्पतिको सम्बन्ध चिसिन पुगेको थियो।

उक्त घटनाले टुटेका भेनेसाले छोडपत्रका लागि प्रक्रिया अघि बढाएका थिए। तर, उनमा कोबेमाथि विश्वास बाँचेकोले नै हुनुपर्छ एक मौका दिनु उचित ठान्दै छोडपत्रको प्रक्रियालाई रोके। नभन्दै ब्रायन्ट दम्पतिले एक वर्षपछि राहतको सास पनि फेरे।

सन् २००४ को सेप्टेम्बरमा कोबेबिरुद्ध बलात्कारको उजुरी दिने महिलाले मेडिकल टेस्ट गर्न नमानेपछि कोबेमाथि लाग्दै आएको मुद्दा खारेज भयो। तर, आरोपबाट सफाई पाए पनि उक्त घटनाले कोबेको व्यक्तिगत जीवनमा भने ठूलो आघात पुगिसकेको थियो। उनी मानसिक रुपमा विक्षिप्त थिए।

त्यस्तो अवस्थामा पत्नी भेनेसाले साथ दिएपछि आफ्नो गुमेको छविलाई ब्युँत्याउन उनले कुनै कसर बाँकी राखेनन्। जसको फलस्वरुप कोबेले आफ्नो आत्मविश्वासलाई जगाउँदै कोर्टमा पुनः सानदार पुनरागमन गर्न सफल भए। उनले एकपछि अर्को सफलतालाई चुम्दै गए। अनि आपूmलाई धनाढ्य खेलाडीहरूको सूचीमा उभ्याउनुका साथै विश्व बास्केटबल जगत्मा सदाबहार खेलाडीको परिचयलाई स्थापित गरे।

उनी एक्ला त्यस्ता बास्केटबल खेलाडी थिए जसले कम उमेरमा ३० हजार अंक हासिल गर्न सफल भए। त्यस्तै सन् २००६ मा टोरन्टो राप्टर्सविरुद्ध ८१ अंक जोड्दै उनले एकै खेलमा सर्वाधिक अंक जोड्ने दोस्रो खेलाडी बनेका थिए। कोबेले २०१५ मा बास्केटबलको एक प्रेमपत्र लेखेका थिए।

उनले आफ्नो बास्केटबलप्रतिको मायालाई समर्पण गर्दै लेखेको उक्त प्रेमपत्रमा आधारित भएर बनेको ‘डियर बास्केटबल’ नामको छोटो एनिमेटेड फिल्मलाई सन् २०१८ मा ओस्कर अवार्ड प्रदान गरिएको थियो।बास्केटबलमा २० वर्ष बिताएका कोवीले आफ्नो खेल जीवनको पूरै समय लस एन्जेलस लेकर्सबाट खेलेका थिए।

आफ्नो करीअरमा ५ पटक एनबीए उपाधि जितेका उनले सन् २०१६ अप्रिलमा सन्यास लिएका थिए। आफ्नो खेल जीवनमा उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता हात पारे। यसबाहेक उनी सन् २००८ मा एनबीएको मोस्ट भ्यालुएबल प्लेयर भए।

दुई पटक एनबीए फाइनल्सका एमभीपी रहेका उनले दुई पटक एनबीएको स्कोरिङ च्याम्पियन र दुईपटक ओलम्पिक च्याम्पियनसमेत भए। कोबेको परिवारमा उनकी पत्नी भनेसा र अन्य तीन छोरीहरू नाटालिया, बियान्का र काप्री छन्।

प्रतिक्रिया दिनुहोस्