प्रताडित प्रचण्ड



अग्नि सापकोटा संघीय संसदको सभामुख भएकोमा भन्दा धरहरालाई उहाँ कुदेकोमा बढी प्रसन्नता छ। सभामुख मात्र होइन उच्च पद हासिल गरेपछि मानिसहरू ढलपलढलपल गर्दै हिंड्छन्, हिजोसम्म कुद्नेहरू यस्तो समयमा मन्द गतिले पाइला चाल्छन्। |

तर, सापकोटाले सभामुख घोषणा भएपछि यसरी कुदेर देखाउनुभयो कि, अड्केका पाँच विधेयक मात्र होइन मस्यौदा हुन बाँकी नीतिहरू पनि ऐन बनेर तुरुन्तै राजपत्रमा प्रकाशित हुन्छन् कि जस्तो लाग्यो।

उहाँ ‘हग’ गरेर अल्मल्याउनेहरूको अँगालोबाट यसरी फुत्केर प्रधानमन्त्रीकहाँ पुग्नुभयो जसरी सशस्त्र द्वन्द्वकालमा सुरक्षा घेरा तोडेर उहाँ कामरेड साथीहरूको समूहमा मिसिन आउने गर्नुहुन्थ्यो। यसै गरी परेको बेला कुद्न सजिलो होस् भनेर अध्यक्षद्वय ओली र प्रचण्डले डेढ महिना खर्च गरेर सापकोटालाई छान्नुभएको हो– अग्लो जीउडालको खाइलाग्दो कामरेड।

विगतमा कृष्णबहादुर महरालाई कतिले यौनहिंसाको कारण उनले पद त्याग्नुपरेको ठोकुवा गरेका छन्, तर धरहराको दाबी छ, मौकामा कुद्दै गएर प्रधानमन्त्री ओलीलाई रिझाउन नसकेकै कारण आज उहाँले डिल्लीबजार सदर खोरमा हिटर तापेर गुजारा चलाउनुपरेको छ।

धरहरा पनि सापकोटाकै पक्षमा छ– मौकामा जो कुद्न सक्छ उसैले पाउने हो सभामुख। विगतमा लिगलिगकोटमा कुद्दै पुगेर राजा हुने प्रचलनका नेपालीले नकुदे कसले कुद्ने।

अलिकति चिन्ता कति मात्र भने, कमरेड प्रचण्डले कत्ति जुक्तिबुद्धि लगाएर ओलीलाई रिझाएर सभामुख बनाएका सापकोटा ओलीका लागि यस गतिमा कुद्छन् भने, भोलि के ठेगान्, हुत्तिएर प्रचण्डभन्दा निकै टाढा पो पुग्ने हुन् कि ! बिचरा प्रताडित प्रचण्ड !

प्रतिक्रिया दिनुहोस्