साङ्लोबाट एक्सन फर्काउँदै विराज



नेपाली फिल्म लगालग फ्लप भइरहेको समयमा एक्सन हिरो विराज भट्ट दर्शकलाई एक्सनको स्वाद दिन लामो समयपछि नेपाली फिल्ममा फर्केका छन् एक्सन फिल्मका साथ।

लामो समयदेखि भोजपुरी फिल्ममा व्यस्त रहे पनि उनलाई नेपाली दर्शकले बिर्सेका छैनन्। उनले अभिनय गरेका भोजपुरी फिल्महरू नेपालीमा डबिङ गरेर नेपालमै चलाइन्थ्यो र पनि विराजलाई हेर्न दर्शकहरू हलमा लाम लाग्छन्। लामो समयदेखि नेपाली फिल्ममा विराजलाई देख्न नपाएका उनका फ्यानका लागि विराज आफ्नै निर्माण र निर्देशनमा साङ्लो नामक फिल्म तयार पारेका छन्।

एक्सनले भरिपूर्ण विराजको यो फिल्म आगामी माघ २४ गते दर्शकमाझ आउने भएको छ। ‘म भोजपुरी फिल्ममा काम गर्दासमेत मैले खेलेका अधिकांश फिल्म नेपालीमा डब गरेर नेपालमा देखाइँदो रहेछ, जुन कुरा मलाई नै थाहा हुँदैनथ्यो।

यस्तो थाहा पाएपछि नेपाली दर्शकको चाहनामा विराज भट्ट अहिले पनि रहेछ भन्ने अनुभव गरें र आफ्नै सोचको फिल्म लिएर दर्शकसामु आउँदै छु’, एक भेटमा विराजले भने– ‘भोजपुरी फिल्ममा काम गरिरहेको थिएँ। तर म हलिउडमै काम गरे पनि नेपाली फिल्म इन्डस्ट्रीजस्तो ठूलै कुनै पनि लाग्दैन।

किनभने मैले यहींबाट शुरू गरेकाले यहाँको माटो नै अर्कै लाग्छ। त्यस कारण मैले पहिलो फिल्म नै नेपाली बनाएको हुँ।’ विराजले सुनाए– ‘म उता काम गरे पनि नेपाली फिल्महरू साइन गरेको थिएँ। तर साइन गरेका कतिपय फिल्म बनेनन् र कतिपय आएका स्क्रिप्ट मन परेन। यस कारण पनि नेपाली फिल्ममा मेरो ग्यापजस्तो देखिएको हो।’

साङ्लोका लागि आफूले धेरै मेहनत गरेको विराजले बताए। ‘क्यारेक्टरअनुसारको लुक्स दिनका लागि जिम गएँ, तौल घटाएँ, डान्स क्लासहरू पनि गएँ। साङ्लोको गीत तथा ट्रेलरमा दर्शकले माया पनि देखाउनुभएको छ। यसरी हेर्दा जति पे्रसर लिएर काम गरें, त्यो ठीकै हो जस्तो लागेको छ।

यसमा मभित्र केके क्वालिटी छ, केके गर्न सक्छु त्यहीअनुसार काम गरेको छु। आफूभित्र भएको क्षमतालाई निकालेको छु। गाउँदेखि शहरको कथाव्यथालाई सिनेमामा देखाउन खोजेको छु।’ –विराज भन्छन्।

विराजले साङ्लोबाटै नेपाली रजतपटमा मिस नेपाल निकिता चण्डकलाई नायिकाका रूपमा भिœयाएका छन्। ‘२६÷२७ जनाको लिस्टबाट निकितालाई लिइएको हो। निकिताको मिस नेपालका रूपमा पहिले नै नाम बनिसकेको छ।

फिल्ममा एजुकेटेड देखिने क्यारेक्टर चाहिने भएकाले त्यसमा उहाँलाई राम्रो हुने देखें र फिल्ममा लिएँ।’ –विराजले भने। उनले साङ्लो नेपालमा चलिसकेपछि च्यानलमा चलाउने हिसाबले हिन्दीमा पनि डब गर्ने बताए।

मिस नेपाल निकिता चण्डकले तत्कालै फिल्ममा काम गर्ने सोच नभए पनि पहिलोपटकको भेटमा नै विराजको व्यवहार र फिल्मको कथा राम्रो लागेकाले साङ्लोमा काम गरेका बताइन्। ‘पहिला बाहिर गएर एक्टिङ सिक्ने सोच बनाएको थिएँ।

तर जसरी विराज दाइले फिल्मको स्क्रिप्ट सुनाउनुभयो, एकदम राम्रो लाग्यो। उहाँ एउटा स्टार भए पनि व्यवहार निकै सरल थियो। उहाँसँग काम गर्दा धेरै कुराहरू सिक्न पाउँछु भन्ने सोचेर पनि काम गरें’, निकिताले भनिन्– ‘उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ।’

निकिताको फिल्ममा यो पहिलो काम भए पनि उनले अभिनय गरेको भने यो पहिलोपटक होइन। ‘म राजस्थानमा पढ्न जाँदा त्यहाँ मैले विभिन्न नाटकमा लिड रोलमा अभिनय गर्ने अवसर पाएको थिएँ। त्यहींदेखि नै एक्टिङमा रुचि बढेको हो। मोडलिङपछि फिल्ममा पनि काम शुरू भयो। तर मैेले धेरै सिक्नु छ।’ –उनले भनिन्।

शिवम अधिकारीको लेखन रहेको फिल्ममा विराज र निकिताका साथै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्तलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

तस्वीरहरू : रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्