नोबेल कोरोना भाइरस २०१९ ?



भगवती तिमल्सिना

[email protected]

चीनको उहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोना भाइरसका कारण ५६ जनाभन्दा बढीको ज्यान जानुका साथै २ हजारभन्दा बढी मानिस प्रभावित भएपछि विश्व स्वास्थ्य संगठनले उक्त मुलुकमा आपत्कालीन अवस्थाको घोषणा गर्नेसम्मको सोच अघिसारेको छ।

             डा. शेरबहादुर पुन

चार दिनअघि चीनको भ्रमणबाट नेपाल फर्किएका दुई नेपालीलाई समेत उक्त रोग लागेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसै अवसरमा आइतबार थप एक अमेरिकी नागरिक चीनबाट नेपाल आउने क्रममा विमानमै ज्वरो आएको खबरसँगै त्रिभुवन विमानस्थलबाट उनलाई परीक्षणका लागि टेकु अस्पतालमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।

विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएलगत्तै टेकु अस्पतालमा ६ बेडको आइसोलेसन वार्ड पुनः सुचारु गरिएको छ।

सरकारले पहिलो प्राथमिकता टेकु अस्पताल र सरकारी मातहतका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताललगायतलाई आइसोलेसन वार्ड स्थापना गरी तीन दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको छ। कुनै पनि अस्पतालमा विश्व स्वास्थ्य संगठनले तोकेबमोजिमको मापदण्ड पूरा गरी आइसोलेसन वार्ड तयार गर्नपर्ने हुन्छ।

वार्ड तयार गरी बिरामीको उपचार गर्न सक्ने अवस्था नभएको अस्पतालका प्रमुखहरूले सरकारलाई जानकारी गराउनुका साथै सार्वजनिकरूपमै जानकारी गराइसकेका छन्। यता सरकारले भने स्रोत, साधन, जनशक्ति, भौतिक संरचनाबिनै मौखिक निर्देशन दिँदै आएको छ।

कोरोना भाइरस जनावरबाट मानिसमा सरेको भनिए पनि कुन जातको जनावरबाट मानिसमा सरेको हो र एक महिनाको बीचमा चीनलगायत अमेरिका, बेलायत, नेपालमा समेत यो रोगको प्रकोप कसरी फैलियो भन्ने बारेमा अहिले पत्ता लागिनसकेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘कोरोना भाइरसका बारेमा वैज्ञानिकलाई त थाहा नभएको अवस्थामा चिकित्सकलाई कसरी थाहा हुन्छ?’ त्यसैले यो रोगका बारेमा हरेक व्यक्ति सचेत हुने र सरकारले भएका स्वास्थ्य जनशक्तिको सम्मान गर्दै सीप, तालिम, उपकरणसहित उपचारमा संलग्न चिकित्सकको स्वास्थ्य सुरक्षामा समेत ध्यान दिएर प्रक्रिया अगाडि बढाएमा रोग नियन्त्रणमा मदत पुग्छ।

                   डा. वासुदेव पाण्डे

रोगको पहिलो प्रवेशद्वार भनेकै अन्तर्राष्ट्रिय विमानस्थल भएकाले त्यहाँ हेल्थ डेस्कलाई व्यवस्थित गरेको खण्डमा नियन्त्रण गर्न सकिन्छ।

जब एक नेपाली चीनको उहान प्रान्तबाट फर्किए उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले सतर्कता अपनाउँदै सरकारी तथा संस्थागत अस्पताललाई उपचारका लागि अलर्ट हुन निर्देशन दिएको हो। डा. पुनका अनुसार कोरोना भाइरस भाइरसहरूको एउटा समूह हो।

यो पशुबाट मानिसमा सर्ने एकप्रकाको भाइरस हो। कोरोना माइरसमध्ये मर्स कोराना भाइरस र सार्स कोराना भाइरसले एक समय विश्वमै प्रभाव जमाएको थियो। यो रोग पहिलोपटक साउदी अरेबियामा देखिएको र मृत्युदर पनि ३५ प्रतिशतभन्दा माथि नै रहेको थियो।

मिडलिस्ट रेस्पेक्टरी सिन्ड्रम भएकाले अरेबियन मुलुकमा अहिले पनि यो रोगको प्रकोप उच्च नै रहेको छ। विशेष गरी साउदी अरेबियाबाट ८० प्रतिशत रिपोर्ट हुन्छ।

                       महेन्द्र श्रेष्ठ

सन् २००३ मा पहिलोपटक चीनमा देखिएको सार्सको उपचारमा समेत सामेल हुनुभएका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ– ‘सार्स पुनः फर्कियो कि भनेका पनि थिए तर अनुसन्धान गरी जिनलाई हेर्दा कोरोना भाइरस नितान्त सार्सभन्दा फरक छ। तर ७३ प्रतिशत जिनको भाइरस मिल्दोजुल्दो खालको देखियो।’

यसलाई सन् २०१९ नोबेल कोरोना भाइरसको नाम दिइएको थियो। यो कुनै नयाँ नाम नभएर सन् २०१९ मा देखिएको भाइरस भएकाले यो नाम दिइएको हो। यसको बारेमा वैज्ञानिकदेखि चिकित्सकलाई जानकारी छैन भने सर्वसाधारणलाई कसरी थाहा हुन्छ?

स्रोत जनावर भनिए पनि जनावर होकी पशुपक्षी कुनबाट हो भन्ने एकिन छैन। त्यसैले विश्वमा पार्ने प्रभाव, क्षति, बिरामीको आकलन गर्नै सकिन्न। यो रोगबाट हुने मृत्युदर पनि कसैले अनुमान गर्न सकिन्न।

यो रोग के हो कसरी आयो र कसरी नियनन्त्रण गर्ने भन्ने बारेमा विश्वकै खोजी र चासोको विषय बनेको छ। नेपाल पनि उत्तिकै चिन्तित देखिएको छ।

नेपालको छिमेकी मुलुक, पर्यटन प्रवद्र्धनमा दोस्रो ठूलो स्रोत बोकेको मुलुक चीनमा फैलिएको यो रोगका बारेमा नेपालले सतर्कता अपनाउनुपर्छ। यो रोग संक्रमित मुलुकमा आवतजावत गर्ने जुनसुकै व्यक्तिबाट फैलन सक्ने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ।

लक्षण के के हुन् त ?

ज्वरो आउनु, खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु, जिउ दुख्नु, टाउको दुख्नुजस्ता समस्या हुन्छ। श्वासप्रश्वासमा समस्या हुने हुनाले यो सीधै हावाबाट सर्ने सम्भावना बढी हुन्छ। निमोनियाको जटिलता।

जोगिन के गर्ने ?
  •  विश्व स्वास्थ्य संगठनका अनुसार जनावरबाट सर्ने रोग भएकाले अति आवश्यक नभएको अवस्थामा जनावरको नजिक नजाने।
  •  जानै पर्दा मुखमा माक्स लगाएर सुरक्षा अपनाउने।
  •  सतर्कता अपनाएर चनाखो हुने।
कस्ता कस्ता व्यक्तिलाई बढी खतरा देखिन्छ ?
  •  दीर्घ रोगी, छातीको समस्या, दम, श्वासप्रश्वासको समस्या भएका, जेष्ठ नागरिकहरू बढी जोखिममा पर्छन्।
  •  चीनमा मृत्यु हुनेमा यस्तै व्यक्ति भएको पुष्टि भइसकेको छ।
  •  अपवादमा युवाहरू पनि पर्न सक्छन्।
  •  धेरै कुरा फ्लुसँग मिल्दो छ र यसले नै धेरै क्षति पुर्याउँदै आएको देखिन्छ।
  •  बिरामीमा नै जटिलता देखियो, समयमा उपचार पाएन भने थप जटिलता निम्त्याउने र मृत्युसमेत हुन सक्छ।

विश्व स्वास्थ्य संगठनको निर्देशन ः यो रोगबाट जोगिनका लागि के गर्ने ?

  •  हात राम्रोसँग धुने।
  •  खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्ने।
  •  मुखमा माक्स लगाउने।
  •  पटक पटक हातलाई नाक मुखमा नलैजाने।
  •  एउटा व्यक्ति र अर्को व्यक्तिको दूरी एक मिटरको फरक हुनुपर्छ।
  •  जनावरको नजिक अनावश्यकरूपमा नजाने।
  •  संक्रमित व्यक्तिभन्दा टाढा बस्ने।
सरकारको दायित्व के हो ?
  •  भएको जनशक्तिलाई तालिम दिने।
  •  अपुग जनशक्ति थप गर्ने।
  •  सही रूपमा परिचालन गर्ने।
  •  यसो गर्दा यो मात्र नभई अरू रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्