‘जस्तोसुकै कारबाही भोग्न तयार छु’



नेपाल समाचारपत्र, काठमाडौं।
प्रहरीसमक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतले आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएकी छन्। अदालतले ४ दिन हिरासतमा राख्न आदेश दिएपछि प्रहरी हिरासतमा रहेकी राउतले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिँदै भनिन्– ‘कानुनभन्दा माथि कोही पनि नभएकाले कानुनले तोकेको कारबाही भोग्न तयार छु।’
केही दिनअघि सांगीतिक कार्यक्रम प्रस्तुतिको सिलसिलामा काठमाडौंबाट भद्रपुर जाने क्रममा काठमाडौं विमानस्थलमा प्रहरी जवान रमिला श्रेष्ठले चेकजाँच गरेको विषयलाई लिएर प्रहरी संगठनकै मानहानी हुने गरी गालीगलौज गरेको आरोपमा उनीविरुद्व प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

कार्यक्रमका सिलसिलामा भारतको सिक्किममा केही दिन बसेर काठमाडौं फर्केकी गायिका राउतले प्रहरीसमक्ष सोमबार आत्समर्पण गरेकी थिइन्।
प्रहरीले अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाउन अदालतसँग ४ दिनको म्याद मागेको थियो। मागबमोजिम अदालतले उनलाई ४ दिन थुनामा नै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका राउतले आफूलाई विमानमा जान ढिलो भएको भन्दै चेकजाँचमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोप छ।

उनले प्रहरी जवान श्रेष्ठले आफूमाथि अपमान गरेको भन्दै सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई गाली गर्दै ८ मिनेट लामो भिडियो अपलोड गरेकी थिइन्।

सामाजिक सञ्जालमा आस्थाको पक्षमा भन्दा पनि विपक्षमा विभिन्न टीकाटिप्पणी भएपछि गायिका राउतलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्