अमेरिकी दूतावासमा ३ वटा रकेट प्रहार



बग्दाद । आइतवार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।

हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन । तर वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।

आइतवार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुई वटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जनाएको छ ।

एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको एएफपीलाई बताउनु भएको छ । तर घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा मिशनमा कार्यरत इराकी स्टाफ सदस्य हुन या होइनन् भन्ने बारेमा पनि तत्काल पुष्टि भएको छैन ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कुटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ ।

इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भत्र्सना गर्दै यसो अवस्था रह्यो भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम रहेको बताउनु भएको छ ।

अमेरिका र इरानमा गत महिनाबाट शुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्