भवन निर्माणस्थलका लागि आवश्यक जग्गा नपुगेपछि प्रशासकीय भवन निर्माण स्थगन



शिक्षा पन्त, लमजुङ।

लमजुङको सुन्दरबजार नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य स्थगन भएको छ।सुन्दरबजारवासीले नगरपालिका– ६ को ठाँटीचौरमा निर्माण थालिएको भवन निर्माणस्थलका लागि आवश्यक जग्गा अपुग भएका कारण स्थगनका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि निर्माण कार्य रोकिएको हो।

सर्वोच्च अदालतबाट अर्को आदेश नहुँदासम्म निर्माण कार्य स्थगन गर्न ओदेश हुँदा पनि काम नरोकिएको भन्दै स्थानीयले नगरपालिका र निर्माण स्थल घेराउ गर्दै काम रोक्न दबाव दिएपछि काम रोकिएको हो।

सुन्दरबजारवासीले नगरपालिकाले प्रशासकीय भवन निर्माण गर्नका लागि न्यूनतम ८ रोपनी जग्गा हुनुपर्ने सरकारी प्रावधान छ।

त्यसका विपरीत भवन निर्माणस्थलमा ६ रोपनी १० आना मात्र जग्गा छ र त्यसमा पनि १२ आना सडकले काट्छ त्यसपछि बाँकी ५ रोपनी १४ आनामा मात्र रहने हुँदा मापदण्ड विपरीतको जग्गामा प्रशासकीय भवन निर्माण गरिनुहुन्न भन्ने माग गर्दै निर्माण कार्य नरोकेको भन्दै आपत्ति व्यक्त गरिएको संघर्ष समितिको संयोजक हिराबहादुर सापकोटाको भनाइ छ।

उहाँका अनुसार संघर्ष समिति ५५ सदस्यीय रहेको छ भने त्यसको सल्लाहकार समिति स्थानीय साहू आनन्दलाल श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय गठन गरिएको छ।

त्यस्तै, सुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति तथा चन्द्रबहादुर दुराको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समिति गठन गरेको सापकोटाले जानकारी दिनुभयो।

बजार क्षेत्रमा रहेको कृषि कार्यालयले नगरपालिकालाई हस्तान्तरण गरेको २१ रोपनी क्षेत्रफलको जग्गामा प्रशासकीय भवन निर्माण गर्नु पर्ने आफूहरूको माग रहेको सल्लाहकार समितिका संयोजक आनन्दलाल श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्