बालाजुमा प्राविधिक रोजगार मेला



नेपाल समाचारपत्र, काठमाडौं।

बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले माघ १४ गते प्राविधिक रोजगार मेला आयोजना गर्ने भएको छ। टेक्नोलोजीले प्राविधिक शिक्षाको महत्वलाई बोध गराउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा आबद्ध संस्था भेला गराई मेला आयोजना गर्न लागेको हो।

मेला प्राविधिक एसएलसी र डिप्लोमा इन्जिनियरिङका प्रशिक्षार्थीलाई लक्षित गरिएको छ। मेलाबाट १ हजार प्र्राविधिक जनशक्ति प्रत्यक्ष लाभान्वित हुने पनि टेक्नोलोजीले दाबी गरेको छ।

प्राविधिक जनशक्ति र उद्योगी एवम् रोजगारदाता माझ परिचय गराई रोजगार प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जब प्लेसमेन्ट एन्ड काउनसेलिङ युनिटका टिम लिडर शिव कारञ्जितले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

‘मेला प्राविधिक जनशक्तिलाई रोजगारीको अवसर प्रदानको लागि एउटा मञ्चको रुपमा लिएका छौं। साथै यसले उद्योगीलाई पनि आफ्नो आवश्यकताअनुसार प्राविधिक छनोट गर्न सघाउने छ।’ टिम लिडर कारञ्जितले भन्नुभयो।

यस मेला दुई दिनसम्म सञ्चालन हुने छ। मेलामा सिप्रदी, पञ्चकन्या, युनाइटेड वायरलगायत २५ वटा बढी प्रतिष्ठित उद्योगीको स्टल रहने टेक्नोलोजीले जनाएको छ।

त्यसैगरी रोजगार र प्राविधिक शिक्षा महत्वबारे कार्यशाला गोष्ठी, विद्यार्थीबाट उत्पादित वस्तुको प्रदर्शन हुने टेक्नोलोजीका निमित्त शिक्षालय प्रमुख बैकुण्ठ श्रेष्ठले बताउनुभयो।टेक्नोलोजीले यसअघि २०७३ सालमा पहिलो रोजगार मेला आयोजना गरेको थियो।

पहिलो मेलाबाट उत्साहित हुँदै दोस्रो मेला आयोजना गरिएको बताउँदै टेक्नोलोजीका उपप्रमुख शंकर श्रेष्ठले भन्नुभयो–‘सीप जानेको व्यक्तिले सजिलै काम पाउन भएकाले अहिले प्राविधिक शिक्षाको महत्व झन्झन् बढिरहेको छ।

गरिबी निवारणका लागि यसले ठूलो भूमिका निर्वाह गर्न सक्दछ। श्रम बजारमा प्राविधिक जनशक्तिको माग बढीरहेको छ। यसले गर्दा मेला फेरि आयोजना गर्न लागेको हुँ।

टेक्नोलोजीको हालसम्म तथ्यांकअनुसार प्राविधिकमा विषयमा ४ हजार ३ सय ९५ जनाले डिप्लोमा कोर्स पूरा गरिसकेको छ भने देशका विभिन्न जिल्लाबाट वर्षेनी सीप सिक्न आउनेहरू करिब ८ सयको हाराहारीमा रहेको छ।

मेकानिलक, इलेक्टिकल, सिभिल, अटोमोबाइल, स्यानिटरीलगायतका विषयमा डिप्लोमा, १८ महिना र २४ महिना र एक महिने कोर्स पनि सञ्चालन गरिरहेको टेक्नोलोजीले जनाएको छ। मेकानिकल टेनिङ सेन्टरको रुपमा २०१८ सालमा स्थापित सो संस्था २०५७ सालमा टेक्नोलोजी रुपमा परिणत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्