छोरीसँग पहिलोपल्ट गाए मदनकृष्णले



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई धेरैले केवल हास्यव्यंग्य कलाकार मात्र नभई कुशल गायकका रूपमा पनि चिन्छन्। उनीद्वारा गाइएको हे भगवान् मेरो खल्तीको घाउ, सय थरी बाजा एउटै चाल, खोलावारि खोलापारि जस्ता गीतहरू अहिले पनि उत्तिकै श्रवणीय छन्।

मदनकृष्णको घरमा सांगीतिक माहोल हुने भएकाले उनी आफ्ना छोराछोरीसँग पनि गीत गाइरहेका हुन्छन्। उनका कलाकार तथा गायक छोरा यमन श्रेष्ठ गितार बजाएर मदनकृष्णसँगै गीत गाइरहेका हुन्छन् भने छोरी सराना श्रेष्ठसँग पनि उनी गीत गाइरहेका हुन्छन्। मदनकृष्ण र सरानाले घरभित्र धेरैचोटि सँगै गीत गाए पनि रेकर्डिङ भने हालै मात्र गराएका छन्।

मदनकृष्ण र सरानाको बाबुछोरीले संयुक्तरूपमा गाएको पहिलो रेकर्डेड गीत बनेको छ– पानी छायाँ। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच यी बाबुछोरीले पहिलोपटक गाएको गीत पानी छायाँ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। मदनकृष्ण र सरनाको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ।

गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने राजीव समरको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीको छायांकन रहेको भिडियो गोपालकृष्ण महर्जनले निर्माण गरेका हुन्। गीतको भिडियोमा मदनकृष्ण र सरानाका साथ कोविश पाण्डे, आर्शिना भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन्।

कुलेखानीको सुन्दर प्राकृतिक वातावरणमा छायांकन गरिएको भिडियोमा विदेशबाट भर्खरै नेपाल आएकी युवती नेपालको प्राकृतिक सुन्दरताबाट मोहित भएको देखाइएको छ। भिजिट नेपाल–२०२० का लागि समेत सहायकसिद्ध बन्न सक्ने म्युजिक भिडियो आइतबार साँझसम्म साढे २ लाख बढीले हेरिसकेका छन्।

गीत र म्युजिक भिडियो सार्वजनिक गरिसकेपछि सरनाले आफ्नो लामो समयदेखिको सपना पूरा भएको बताइरहँदा उनको आँखामा आँसु छचल्किएको देखिन्थ्यो। ‘बुबासँग सधैं घरमा गाइरहन्थें।

तर, अफिसियल्ली गीत रलिज गर्दा उहाँसँग गाएको पहिलो गीत बन्न पुगेको छ’, गीत सार्वजनिक गर्नुअघि मदन र सरानाको बाबुछोरीले स्टेजमा उक्त गीत प्रस्तुत गरेर पहिलोचोटी स्टेज शेयर गरेका थिए।

कार्यक्रममा बोल्दै मदनकृष्णले आफूलाई गीतका गीतकार तथा पुराना साथी राजेन्द्र थापाले गीत गाउन कर गरेपछि गाएको बताए। ‘यो गीत गाउन मेरो श्वासै पुग्दैनथ्यो। तर, पछि सबैले गाउ कि गाउ भन्न थालेपछि एकै टेकमा गाएँ। गीत गाएको भोलिपल्ट बाइपास सर्जरी गर्नुपर्यो।’ –मदनकृष्णले भने।

सरानाले आफ्नो एक फिल्मका लागि दैव हरे बोलको गीत भावमा डुबेर गाएको स्मरण गर्दै सरानाको स्वभाव चञ्चल भए पनि सिरियस गीत सुहाउने बताए। ‘सरानाको स्वभाव चञ्चल छ। तर, उनलाई सिरियस गीत सुहाउँछ। यमनको सिरियस खालको छ तर उसलाई रोमान्टिक गीत सुहाउँछ।’

–कार्यक्रममा बोल्दै गीतकार राजेन्द्र थापाले मदनजस्तो साथीले छोरीका लागि गीत लेख्न कर गरेपछि यस प्रकारको गीत फुरेको बताए। ‘मदनसँग १५ वर्षअगाडि पनि गीत रेकर्ड गर्ने कुरा भएको थियो।

तर, अहिले मात्र जुर्यो। गीत लेख्ने बेलामा बुबाले हिजोको जस्तो र छोरीले आजको जस्तो गीत लेख्नु भन्ने चाहेका थिए। मैले हिजो र आज दुवै पुस्तालाई जोड्ने गरी गीत लेखेको छु’, उनले भने– ‘मदनकृष्णलाई शुरूमा गीत गाउन मनाउन धेरै समय लाग्यो।

ऊ पटक–पटक म गाउँदिन भनेर बसेको थियो। तर, जब गीत गाउने दिन आयो ऊ जोस्सियो र एकै टेकमा गाइदियो। गाउँदिन भनेको उसले सबैभन्दा बढी प्राक्टिस गरेर बसेको रहेछ।’

गीतको भिडियो हेरेपश्चात् मदनकृष्णका जोडी अर्का ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले यो गीत हेरेपछि सराना बेकार अमेरिका गएको जस्तो लागेको बताए। ‘सरिना बेकार अमेरिका गएर बसेको फिल भयो।

भिडियोमा उनी माधुरी दीक्ष्ँितभन्दा कम देखिएकी छैनन् भने स्वरमा पनि मिठास छ। उनी नेपालमै भएको भए हामीले एउटा राम्रो गायिका र राम्रो हिरोइन पनि घरमै पाउने रहेछौं’, हरिवंशले भने– ‘हुन त गीत गाउने गुण बुबामा भएका कारण छोराछोरीमा देखिनु स्वभाविक हो।

तर, सराना नेपालमै बसेर गीत गायनमा लागेको भए उनको स्वर चल्न सक्ने सम्भावना थियो। उनी राम्रो गायिका हुन सक्थिन् तर अझै पनि समय गएको छैन।’

भिडियोका निर्देशक सुव्रतराज आचार्यले गैरकलाकारभन्दा कलाकारसँगै काम गर्न सजिलो भएको बताए। कार्यक्रममा म्युजिक भिडियोका निर्माता गोपालकृष्ण महर्जनले भिडियोका बारेमा प्रस्ट पार्दै भने– ‘मदन दाइ र सरनाको पहिलो गीत भएका कारण यो गीत आज यहाँसम्म आएको छ।’

प्रतिक्रिया दिनुहोस्