प्रधानमन्त्री नै पत्नी हत्यामा मुछिएपछि



काठमाडौँ ।
लेसोथोका प्रधानमन्त्री र उनकी पत्नी हत्या अनुसन्धानमा तानिएका छन्। ८० वर्षे प्रधानमन्त्री थोमस थाबाने र उनकी ४२ वर्षे वर्तमान पत्नी मेसिया थाबाने दुवै अहिले थोमसकी पहिली पत्नी लिपोलेलो थाबानेको हत्या अनुसन्धानमा मुछिएका हुन्।

लिपोलेलो सन् २०१२ देखि नै पतिबाट अलग्गै बस्दै आएकी थिइन्। २०१७ मा ५८ वर्षे लिपोलेलोको हत्या भयो। साँझमा घर फर्किंदै गर्दा उनको बाटो छेकेर अनेकौँ गोली प्रहार गरिएको थियो। अज्ञात समूहले उनको हत्या गरेको बताइएको थियो। त्यसको दुई दिनपछि थोमसले प्रधानमन्त्रीको शपथ लिएका थिए। तर, अहिले आएर प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनले अनेकौँ प्रश्न उठाएको छ।

लेसोथोका प्रहरी कमिस्नरले हत्याको घटना भएको स्थानबाट एउटा सेल फोनमा कुराकानी भएको खुल्न आएको बताएका छन, उक्त सेलफोन प्रधानमन्त्रीको भएको बताएका छन् । हत्या गरिएकी लिपोलेलो र प्रधानमन्त्रीबीच सम्बन्धविच्छेद पनि टुंगिएको छैन। प्रधानमन्त्री पत्नी मेसिया भने दुई सातादेखि बेपत्ता छिन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको लेसोथोको क्षेत्रफल ३० हजार ३५५ वर्ग किमि छ भने यहाँको जनसंख्या करिब २२ लाख रहेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्