७३ वर्षीया वृद्धाले जन्माईन जुम्ल्याहा बच्चा



काठमाडौं ।

भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ७३ वर्षीया येरामति मंगायम्मा नाम गरेकी ती महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । बुधबार विहान सिजेरियल (अपरेसन)बाट उनले यी दुई दुई छोरीलाई जन्म दिएकी हुन् । दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अपरेसन गरेका चिकित्सकले बताएका छन् । ती बच्चालाई २१ दिन अस्पतालमा राखिने छ ।

अहिलेसम्म विश्वमा नै सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना यसलाई मान्न सकिन्छ । यसअघि स्पेनकी मारिया डेल मार्केन लाराले २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसो त, भारतकै ओमकारी पनवारको नाममा यो रेकर्ड रहेको पनि अनुमान गरिन्छ । उनले २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

दुई छोरी जन्माएपछि येरामति निकै खुसी छिन् । ‘मानिसहरु मलाई निसन्तान महिला भन्ने गर्थे,’ उनले भनेकी छिन्, ‘मैले निकै दुःख सहेँ र अहिले बच्चाहरु जन्माउने फैसला गरेँ । मेरालागि जीवनको सबैभन्दा खुसीको क्षण नै यही हो ।’ ‘अब त म पनि खुसी भएको छु, यो सब यहाँका चिकित्सकहरुका कारण सम्भव भएको हो,’ उनका पतिले भनेका छन्, ‘हामीले यही अस्पतालमा ९ महिना बितायौँ, अब हामी निकै खुसी भएका छौँ ।’
एजेन्सी

प्रतिक्रिया दिनुहोस्