महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन तयार



पुष्कर बुढाथोकी,भक्तपुर।

नेपाल प्रहरीको सन्दर्भमा भन्नुपर्दा एक समय एउटा भनाई महत्वपुर्ण थियो कि जहाँ पुग्छन् सीताराम त्यहीं बन्छ प्रहरीको भवन ।अर्थात अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुले आफू कार्यरत रहँदा काठमाडौंंका तीन ठाउँ कालीमाटी, दरबारमार्ग र कोटेश्वर तथा ललितपुरको सातदोबाटोमा गरी ४ वटा ट्राफिक प्रहरी भवन निर्माण गरे ।

बिगतदेखि उनकै संगतमा परेका र उनकै सहयोगीको भुमिका निर्वाह गरेका प्रहरी हवल्दार ईश्वर बन्जाराले पनि हाछेथुकै बाटो समात्दै सबैको साथ र सहयोग जुटाएर यति बेला महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन तयार पार्ने जिम्मेवारी पुरा गरेका छन् ।

यस मानेमा बन्जारा सानो सिताराम बन्ने धुनमा छन् ।उनी हाल ट्राफिक हवल्दार हुन् र यसै मेसोमा उनकै बिशेष सकृयताले निर्माण सम्पन्न भएको भवन सोमबार उद्घाटन हुँदैछ । त्यसो त यो भवन निर्माणमा पनि उनलाई हाछेथुको गृह जिल्ला भएका कारण हाछेथुको साथ र सल्लाह राम्रैसँग पाए ।

यस अघि यहाँ ट्राफिक प्रहरीको आफ्नै भवन थिएन,भाडामा लिएको भवन पनि ब्यबस्थित थिएन । निकै साँघुरो ठाउँ । काम गर्न निकै गाह्रो पथ्र्याे ।जब उनी सरुवा भएर भक्तपुर आए त्यसपछि यहाँका स्थानीयसँग सहकार्य गरेर एउटा राम्रो कार्यालयका लागि भवन बनाउने जिम्मा उनको काँधमा आयो ।

शिलान्यासको एक बर्षसम्म निर्माणले गति खासै गति नलिए उनी आएपछि तीब्रता पाएको थियो ।गत २०७४ साल कात्तिक २९ गते हालका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरी नायब महानिरीक्षक हुँदा शिलान्यास गरेको भवन भोली सोमबार उनैले उद्घाटन गर्ने कार्यक्रम छ ।

१३ आना क्षेत्रफल रहेको जग्गामा साँढे २ तले सुबिधा सम्पन्न भवनमा ९ वटा कोठा रहेका छन् ।जसमा कार्यालय,मेस,महिला ब्यारेक,प्रतिक्षालय,ईन्चार्ज रुम,जुनियर प्रहरी अधिकृत ब्यारेक,प्रहरी हवल्दार तथा जवान ब्यारेक ,ब्यबस्थित शौचाललय समेत रहेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदायको सहयोग र जनसहभागिता,ब्यबसायी र दाताबाट जुटाएर रु.एक करोड ९० लाख तथा भौतिक सहयोगमा भवन निर्माण सम्पन्न भएको समितिका अध्यक्ष नविन प्रजापतिले बताउनुभयो ।

भवन निर्माणमा स्थानीय सरकार बिशेषत सुर्यबिनायक नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको छ भने ।सुर्यबिनायक,मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

यसैगरी भवन निर्माणमा ब्यबसायी,समाजसेवी , पत्रकार र स्थानीयको लगायत प्रशासन र प्रहरी परिसरको समेत अमुल्य सहयोग मिलेको भवन निर्माण समितिले जनाएको छ ।पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज हुने भएको छ ।

त्यसो त एकताका जहाँ हुन्छ जाम ,त्यहाँ पुग्छ सिताराम भन्ने भनाई पनि सुनिन्थ्यो ।२४ सै घण्टा खटिएर भवन निर्माणलाई पुरा गर्न सकेका हवल्दार बन्जाराले हाछेथुले जस्तै थप भवन बनाउने र ट्राफिक जाम खुलाउने मामलामा समेत थप सफलता चुम्न सकुन् भन्ने भक्तपुरबासीको शुभेच्छा छ ।

प्रतिक्रिया दिनुहोस्