जागिरका लागि जनप्रतिनिधि भएको हैन



नरवहादुर रावत
अध्यक्ष छेडेदह गाउँपालिका

बाजुराको खप्तड छेडेदह गाउँपालिका साविकका पाँच गाविस आटीचौर , डोगडी, गुदुखाती ,काँडा र जयवागेश्वरी मिलेर बनेको गाउँपालिकाहो। प्रकृतिक रुपमा मनोरम, उत्पादनका दृष्टीले राम्रो धार्मिक एवं पर्यटकीय दृष्टीले सुन्दर ठाउँले चिनिन्छ। अझ खप्तड राष्ट्रिय निकुञ्ज र छेडेदहतालको संरक्षण , सम्बर्धन र प्रबद्धन गर्नसके पर्यटन भित्रनुका साथै साथै स्थानीयले राम्रो गर्न सक्छन। यद्यपी जलविद्युत, बाटो र सञ्चार सुविधामा अन्य स्थानीयतहको तुलनामा पछाडि छ। प्रयाप्त सम्भावना बोकेको तर यथोचित भौतिक पूर्वाधार विकास हुन नसक्दा समग्र स्थानीय तहको बिकास हुन सकेको छैन। स्थानीय तहले जनप्रतिनिधि पाएको पनि झण्डै साढे दुई बर्ष वितिसकेको छ। यसै बिषयलाई लिएर गाउंपालिकाका अध्यक्ष नरवहादुर रावत संग नेपाल समाचारपत्रकर्मी दयाराम पण्डितले गरेको कुराकानी:

तपाइँले खप्तड छेडेदह गाउंपालिकाको नेतृत्व सम्हालेको ३० महिना बितिसक्यो गाउँपालिकाको बिकासका लागि के के गर्नुभयो ?

मैले खप्तड छेडेदहको नेतृत्व गरेको ३० महिना भयो। हाल सम्म गाउँपालिकाको विकासका लागि बिद्यालय भवन निर्माण, छात्रावास भवन निर्माण, गाउंपालिका स्तरीय परीक्षा ब्यवस्थापन, गाउँपालिका स्तरिय परिक्षा व्यवस्थापन, खेल मैदानको निर्माण, सबै बिद्यालयमा इ हाजिरी शुरु जस्ता कामलाई तीव्रता दिनुका साथै बिद्यालयमा खाजा घर निर्माण, स्वयम सेवक शिक्षक परिचालन, भवन नभएका वडामा भवन निर्माण, गाउपालिकाकालागि जग्गाको ब्यवस्थापन जस्ता कामलाई तीव्रता दिएको छु।

त्यसैगरी पिछडिएको यस गाउंपालिकाका सबै वडामा मोटर बाटो पु–याउने, बर्थिङ सेन्टरको निर्माण, गाउंघर खोप क्लिनिक निर्माण जस्ता कामलाई तीव्रता दिएको छु।

सहभागिता मुलक तरिकाले बस्तीमा रहेका समुदायको उपस्थितिबाट योजना तथा माग संकलन गरी प्राथमिकरण गर्दै योजना छनौट गरिन्छ।

यस पाउंपालिका भित्र औषधी उपचारको लागि सहज ब्यवस्थाका साथै पोशणका क्रियाकलापहरू सबै वडामा पुर्याईएको छ। सिंचाइकोलागि नहर निर्माणका साथै स्वच्छ खानेपानीको ब्यवस्था म यस गाउंपालिकामा निर्वाचित भएर आएपछि गरेको छु।

त्यसैगरी खानेपानीको मुहान संरक्षण, बिद्युत बिस्तारकालागि पोलहरूको ब्यवस्थापन, सहज सूचनाको पहुंचकालागि इन्टरनेटको ब्यवस्थापन, गोरेटो बाटोको निर्माण, सरसफाईकालागि जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको छ।

मुख्य समस्याको रुपमा रहेको मदिरा नियन्त्रण अभियान संचालन गर्नुका साथै शान्ति सुरक्षाकालागि प्रहरी चौकी स्थापनाकोलागि समेत पहल गरेको छु।

तपाईले सोचे अनुरुपको काम हुन सकेको छ कि छैन। योजना मुताविकका काम भएको छ कि छैन ?

हामी संग आवधिक विकास योजना बनाएका छौ त्यसैमा टेकेर योजना निर्माण भईराखेका छन्। अझै पनि जनताले भनेको जस्तो सेवा सुबिधा दिन सकिएको छैन। हामी योजनाबद्ध रुपमा अगाडि बढेका छौ।

त्यसो भए खप्तड क्षेडेदह गाउँपालिकाको मुख्य समृद्धिको आधार के के हुन ? पर्यटन, कृषी, जलसम्पदा,जडीबुटी ब्यवस्थापनकालागि के गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिकाको मुख्य समृद्धीको आधार भनेको कृषि नै हो। कृषिमा काडाँ, जयबागेश्वरी र डोगडीमा आलुको प्रचुर सम्भावना बोकेका ठाउँहरू हुन् भने आटिचौरमा मसला लसुन, अदुवा, फलफुल लगायतका कृषि बस्तुको प्रचुर सम्भावना रहेको क्षेत्र हो। गुदुखाती तरकारीको राम्रो सम्भावना बेकेको क्षेत्र हो।

हाम्रो गाउँपालिकामा ३८दशमलव ७७ प्रतिशत जंगलले ओगटेको छ र चरन क्षेत्र ५दशमलव ८६ प्रतिशत रहेकाले पशुपालनको सम्भावना पनि राम्रो रहेको छ।

त्यस्तै पर्यटनको पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो यस गाउंपालिका। खप्तड यसै गाउँपालिकामा जोडिएकाले खप्तड हुदै रारा सम्म जाने मार्ग हाम्रै गाउँपालिका भएर जाने हुदाँ रमणीय स्थान छेडेदह पनि रहेकाले पर्यटनको पनि सम्भावना बोकेको छ। जडीबुटी खेतीको पनि यस गाउँपालिकामा राम्रो सम्भावना रहेको छ।

नेपालको संबिधानले निर्धारण गरेका स्थानीयतहमा २२ वटा अधिकार छन्,ती अधिकार कार्यान्वयनका लागि कानुन पनि बनाउनु पर्ने होला सबै कानुन निर्माण गरिसक्नु भयो ?

हो हामीले धेरैजसो कानुन निर्माण गरिसकेका छौं भने कानुनको अधिनमा रही कार्यविधि पनि निर्माण गरेका छौं। ऐन र कार्यविधिमा टेकेर हामी कामकाज अघि बढीरहेका छौ।
अहिले सम्म १२्र वटा ऐन, पाँच वटा निमावली , पाँच वटा कार्यविधि र ४ वटा निर्देशिका निर्माण गरी सोही अनुरुप काम गरिरहेका छांै।

तपाईँको स्गाउंपालिकामा योजना छनौटका आधार कसरी तय गर्नु भएको छ वा पहुंचको आधारमा योजनाहरू छनौट गर्ने गरिन्छ ?

राज्यको पुनसंरचना भए संगै तीन तहका सरकार छन्। हामी स्थानीय सरकारमा छौ स्थानीय सरकार संचालन ऐन छ। सोही ऐनमा टेकेर विकास समृद्धिको बाटोमा हामी लागि परेका छौ र सोही अनुसार योजना छनोट गरिरहेका छौ।

यदि योजना छनौटका निश्चित मापदण्ड र आधार छन् भने कृपया तपाईँको पालिकाका योजना छनौटका आधारहरू बताइदिनुस न ?

हामीले सात चरणमा योजना छनौट गर्नुपर्ने हुन्छ। पहिलो चरणमा बजेटको पूर्व तयारी गर्नुपर्ने हुन्छ। पुस मसान्त भित्र आयव्ययको प्रक्षेपण गरी चैत मसान्त मा संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गरी सक्ने प्रावधान रहेको छ।

दोस्रो चरणमा स्रोत अनुमान तथा बजेट सीमा प्राप्त गर्ने। यसमा कति राजश्व संकलन हुन्छ र संघ र प्रदेशबाट प्राप्त हुने रकमको अनुमान गर्दै त्यसको आधारमा कुन कुन क्षेत्रमा कति–कति बजेट विनियोजन गर्ने भन्ने समितिले काम गर्छ। तेस्रो चरण बस्ती स्तरबाट योजना छनौट गर्ने रहेको छ।

सहभागिता मुलक तरिकाले बस्तीमा रहेका समुदायको उपस्थितिबाट योजना तथा माग संकलन गरी प्राथमिकरण गर्दै योजना छनौट गरिन्छ। चौथो चरणमा वडा तहमा योजना छनौट तथा प्राथमिकरण रहेको छ। वडा तहमा योजना छनौटका लागि प्राथमिकरणको आधारमा छनोट गरेर बनाएर विषय क्षेत्र छुट्याई कार्यपालिकामा पठाउनु पर्दछ।

पाँचौ चरणमा बजेट तथा कार्यक्रम तर्जुमा रहेको छ। बजेट तथा कार्यक्रम तर्जुमा गर्नका लागि बजेट तथा कार्यक्रम तर्जुमा समिति हुन्छ। यो बजेट तर्जुमा समितिले आगामी वर्षमा गर्ने स्थानीय तहको नीति कार्यक्रम बनाउने, बजेट तथा कार्यक्रमको प्राथमिकरण गर्ने र विषयगत क्षेत्रमा छलफल गराउने र बजेटको अन्तिम रुप तयार गर्ने गर्दछ।

छैटौ चरण गाउँ कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृती रहेको छ। बजेट, नीति तथा कार्यक्रम कार्यपालिकामा पेश गर्ने गाउँ कार्यपालिकाबाट अनुमोदन गर्ने र गाउँ सभामा पेश गर्ने र सातौ चरणमा गाउँ सभाबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने प्रावधान रहेको छ।

गाउँ कार्यपालिकाबाट पेश भएको नीति तथा बजेट कार्यक्रमलाई १५ दिन सम्म छलफल गर्ने र छलफल गराईसके पछि सभाबाट पारित गर्ने रहेको छ। स्थानीय तह नै वडा र गाउँटोलसँग जोडिएका छन्।

जनप्रतिनिधिलाई आफ्नो ठाउँका आवश्यकता बारे जानकारी छ। अनि नागरिकले पनि निर्धक्कसँग योजनाको माग गर्न सक्छन्। स्थानीयको आवश्यकता पुरा गर्न र स्थानीय स्रोत र साधनको परिचालन गर्न स्थानीय तहले सक्छन्। नयाँ संरचना, नयाँ व्यवस्था र अधिकारको हिसावले स्थानीय तह बढी शक्तिशाली रहेका छन्।

अब गाउंपालिकाको तेस्रो चौमासिक समीक्षा गर्ने बेला आइसकेको छ। यस आर्थिक वर्षमा हाल सम्म लक्ष्य अनुसार कति प्रतिशत प्रगती हांशिल गर्नु भएको छ ?
हामीले लिएको लक्ष्य जति प्रगती भएको छैन। हामीसंग कर्मचारी व्यवस्थापन अहिले हुदैछ। कर्मचारीको व्यवस्थापनसंगै अब प्रगतिको पाइला चल्ने छ। अहिले सम्म २३दशमलव४६ प्रतिशत विकास निर्माणको काम गर्न सफल भएका छौ।

तपाईको गाउंपालिकाको आन्तरिक स्रोत के के हुन् ? वार्षिक बजेटमा कति प्रतिसत आन्तरिक स्रोतले ब्यबस्थापन गर्नु भएको छ ?

यस गाउँपालिकाको आन्तरिक स्रोतहरू मध्ये भुमीकर, (मालपोत), व्यवसाय कर, सेवा शुल्क, नविकरण, दर्ता दस्तुर, निर्माण व्यवसाय शुल्क लगायतका आन्तरिक स्रोत हुन्। वार्षिक १० लाख सम्म हाम्रो आन्तरिक आय हुदै आईरहेको छ। यसलाई फराकिलो बनाउन हामी लागि परेका छौ।

भनेपछि आन्तरिक श्रोत त अत्यन्त न्युन रहेछ यसले त नागरिकलाई पर निर्भरतामा बांच्न सकिाउने भयो हैन त ?

हामीले प्रत्यक्ष जनतालाई असर पर्ने गरी कर लगाउनु भन्दा करका दायरालाई फराकिलो बनाउदै लैजानु पर्छ। पहिला जनतालाई विकास निर्माणबाट सुविधा दिन सक्नु पर्छ।

त्यसपछि मात्रै करको दायरामा ल्याउने हो अहिले आन्तरिक आय न्युन भएता पनि अबको १५–२० वर्ष पछि उद्योग धन्दा, होटेल, व्यापार व्यवसाय बढ्दै जान्छ त्यस पछि आन्तरिक आय बृद्धी हुने हो।

अहिले सबै स्थानीय तहको एउटै समस्या हो आन्तरिक आय न्युन नै छ। त्यसैले हाम्रो गाउँपालिकाको पनि आय अत्यन्तै न्युन छ।

आन्तरिक स्रोत ब्यबस्थापनका लागि हाल सम्म भए गरेका प्रयत्न र आगामी सम्भावनाहरू केके छन् ? या सधैं परनिर्भरतामै रहनु पर्ने हो ?

हामीले अब एकिकृत सम्पति करको योजना बनाउदै छौं। गाउँपालिका भित्रमा भवन निर्माण संगिता लागु गरी भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र भवन बनाउन लगाउने योजना बनाउदै छौ।

युवाहरूलाई स्वरोजगार हुने र व्यवसायिक तालिम उपलब्ध गराउने योजना बनाएका छौ। व्यवसायलाई दर्ताका लागि प्रोत्साहित गर्दै करको दायरामा ल्याउने, कृषि, पशुपालन लगायत लाई व्यवसायीकरण गर्नका लागि प्रोत्साहित गर्दै आएका छौं।

उद्योग व्यवसाय दर्ता अनुमतिलाई व्यवस्थित गर्दै करको दायरालाई फराकिलो बनाउँदै आत्मनिर्भरका लागि अगाडि बढ्दै छौ। यसो गर्दा आन्तरिक आय फराकिलो हुदै जान्छ र परनिर्भरता कम हुदै जान्छ।

दुईवर्ष सम्म तपाइहरूले पारिश्रमिक लिएर काम गर्नु भयो। पछिल्लो समयमा सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिलाई पारिश्रमिक दिनमा रोक लगाउने फैसला गरेको छ। फैसला कार्यान्वयन गर्दा तपाईँलाई पारिश्रमिक बिनै कामगर्न कत्तिको अफ्ठेरो परेको छ ?

पहिलो कुरा त पारिश्रमिक भन्ने शब्द नै अव्यवहारिक छ जस्तो लाग्छ। जहाँ सम्म सेवा सुविधाको कुरो हो त्यो प्रदेश सरकारले सोच्ने विषय हो। मैले अहिले सम्म सेवा सुविधाका नाममा गाडी, बाईक ईन्धन घरभाडा लगायतका कुनै पनि सुविधा लिएको छैन लिने पनि छैन।

म ५ वर्ष जनताको सेवा गर्न आएको हो ढुक्कसंग सेवा गर्छु यसैमा मलाई आनन्द आइरहेको छ। हामी जनप्रतिनिधि जागिर खान आएका होइनौं। हामीले समाज सेवा गर्ने हो जनप्रतिनिधि हुनु भन्दा पहिला पनि गथ्र्यौ र अहिले पनि गरिराखेका छौ।

अनि स्थानीय तहको कार्य प्रगतिका लागि कार्यान्वयन गर्न दक्ष जनशक्ती चाहिन्छ ,तपाईँको स्थानीय तहमा दक्ष जनशक्ती ब्यबस्थापनको अबस्था कस्तो छ ?

अहिले हामीसंग वडा सचिव पुरा भईसकेका छन् र अन्य कर्मचारी आउने क्रम जारी छ। कर्मचारीको व्यवस्थापन गर्दै छौ। जनशक्ति विना काम गर्न असजिलो चांही हुन्छ।

अब कर्मचारीलाई परिचालन गरेर जनतालाई दिने सेवा सुविधा समयमै दिने र विकास निर्माणका गतिविधिलाई अगाडि बढाउने सुशासनको प्रत्याभुती दिलाउने र संघीय संरचना अनुरुप जनतालाई विश्वास दिलाउँदै व्यवस्थापनमा अघि बढिरहेका छौ।

संघ र प्रदेशबाट आउने सांसद क्षेत्र बिकास कोषबाट विनियोजन गरिने रकम आएको छ ?आएको छ भने स्थानीय तहका योजना छनौटका आधारमा आएको हो वा कार्यकर्ता भरणपोषणगर्ने गरी आएको भन्ने गुनासो सुन्निछ नि ?

सांसद विकास कोषकाबाट विनियोजन गरिने रकम हाम्रो गाउँपालिकामा झिनो मात्रामा आएकोईरहेको छ। योजना छनोटका लागि परामर्श समितिमा म पनि संलग्न छु। तर जुनखाले योजना बस्ती स्तर र आवश्यकताको पहिचान गरी छनोट गरिनु पथ्र्यो। उहाँहरूको रकम विनियोजन गर्ने समिति आफ्नै छ।

अन्तमाः तपाईँको ३० महिनाको समयमा सबैभन्दा उत्कृष्ट कार्य के गरे जस्तो लाग्छ ?

मलाई यो ३० महिनाको अवधीमा सबै साथीहरूले सहयोग गरिरहेका छन् र जनताले पनि विश्वास गर्दै आईरहेका छन्।गाउँपालिका भित्रको आवश्यकताको पहिचान गरी योजना निर्माण कार्यमा लागि रहेका छौ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, सरसफाई, विद्यालय भवन निर्माण यी कार्य निरन्तर भईरहेका छन् भने मदिरा बन्द तथा व्यवस्थापन गर्नाले जनताले शान्ति तथा अमन चयन कायम भई हिंसा तथा झैझगडा, मुद्दा मामिला बन्द भई जनताले सुशासनको अनुभुती गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्