छोराछोरी फौजमा, आमाबुबालाई सम्मान



डोटी, (नेस)।

डोटीको दीपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले डोटीको केआईसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।

६ छोरा र एक छोरी सबै फौजमा जागिरे भएका कारण उहाँहरुलाई सो गणका गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो।

गणको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा जैसी परिवारलाई सम्मान गरिएको सशस्त्र प्रहरी ३६ नम्बर गण दीपायलले जनाएको छ। जैसीका ५ छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन् भने एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन्।

छोरा–छोरीले गरेको योगदानले आफू सम्मानित भएकामा निकै खुसी भएको सम्मानित हुनुभएका प्रेमराज जैसीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मेरा छोराछोरीको योगदानले म आज सम्मानित भएँ योभन्दा अरू खुसीको क्षण के हुन सक्छ र।’ सामान्य परिवारमा जन्मिएका छोराछोरीले बुबाआमालाई सम्मानित गर्न सकेको भन्दै अहिले जैसी परिवारमा खुसियाली छाएको छ।

प्रतिक्रिया दिनुहोस्