नागरिक सहजकर्ता सेवा शुरुआत



काठमाडौं, (नेस)। 

महानगरीय प्रहरी मातहतका कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणका लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा शुरुआत गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उक्त सेवा शुरुआत भएको जानकारी गराउँदै प्रहरी कार्यालयमा न्यायको लागि आउने सेवाग्राहीलाई दिने प्रहरी सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्ने उल्लेख गर्नुभयो।

नगरिकलाई परेको पिरमर्का आफूलाई नै परेकोसरह सम्झी सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखासमक्ष पुर्याउन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो।
प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित हरेक मुद्दा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याच लगाइ कार्यालयको गेटमा नागरिकहरूलाई सेवा दिने उद्देश्यले उक्त सेवा शुरुआत गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

नागरिक सहजकर्ताको सेवा बुधबारबाटै पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय अपराध महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसरहरू, महानगरीय प्रहरी परिसर मातहतका सबै वृत्त र प्रभागहरूमा शुरूआत गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्