महालेखा परीक्षकको आलोचना



रामधन राई, खोटाङ। 

खोटाङका स्थानीय तहमा लेखा परीक्षणका लागि खटिएका टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि आलोचना गरिएको छ।

महालेखा परीक्षकको टोली जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको मात्र लेखा परीक्षण गरेर फर्किएपछि गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले पत्रकार सम्मेलन गरी आलोचना गर्नुभएको हो।

कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ति अभाव देखाउँदै महालेखा परीक्षकको टोली फर्किएको भन्दै अध्यक्ष राईले खेद प्रकट गर्नुभयो।

अध्यक्ष राईले पारदर्शीता कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको महालेखाले लेखा परीक्षण नगरेर संघीयता र जनभावनाविपरीतको काम गरेको भन्दै महालेखाको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।

उहाँले महालेखा परीक्षकको टोलीले संविधानको मर्मविपरीत स्थानीय सरकारलाई अन्डरस्टिमेट गराउन खोजेको भन्दै आपत्ति जनाउनुभयो।

४६ दिनसम्म बसेर लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली पुस ७ गते काठ्माडौं फर्किएको थियो।

निर्धारित मुकामअनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई खोटाङ बजारमा कागजात ल्याउन भनिएको थियो।

तर, आफ्नै कार्यालयमा आएर लेखा परीक्षण गर्नुपर्नेमा गाउँपालिकाले अडान लियो। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले श्रेस्ता बोकेर कर्मचारीलाई खोटाङ बजार नपठाइ आफ्नै कार्यालयमा आएर लेखा परीक्षण गर्न महालेखालाई आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्