हेटौंडामा माक्र्सवादी दर्शन उपन्यासमा आञ्चलिकता



नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभाग तथा आख्यान विभागसँगको सहकार्यमा नारी साहित्यकारहरूको संस्था आँचल साहित्य–कला पुञ्ज मकवानपुरद्वारा हेटौंडामा विचार गोष्ठी एवं रचना वाचन कार्यक्रमको आयोजना गरियो।

गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव एवं दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले राजधानीमा मात्रै केन्द्रित नभएर सबै प्रदेश र स्थानीय तहमा समेत विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका साथै प्रज्ञा–प्रतिष्ठान ‘महाकवि देवकोटा संग्रहालय’ को निर्माण, ‘नेपाल दर्पण’ र ‘नेपाली दर्शन’ जस्ता राष्ट्रिय गौरवका गौरवमय कार्यहरूको कार्यान्वयनको क्रममा अग्रसर छ।’

प्रज्ञा–प्रतिष्ठानका समालोचना तथा निबन्ध विभाग प्रमुख प्राडा गोपीन्द्र पौडेलले कार्यक्रममा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली कथामा त्यसको प्रयोग’ र साहित्य संगम मकवानपुरका अध्यक्षसमेत रहेका साहित्यकार निमिष निखिलले ‘समकालीन नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी आख्यान विभाग प्रमुख माया ठकुरीले आख्यान विभागका समग्र गतिविधिबारे प्रकाश पार्दै आञ्चलिकताले उपन्यासलाई स्वादिलो बनाउने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्राडा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै माक्र्सवाद जीवन र जगत्लाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने उन्नत एवं वैज्ञानिक चिन्तन भएको उल्लेख गर्नुभयो।

उहाँले दर्शनका दुई शाखा आदर्शवादी दर्शन र भौतिकवादी दर्शनमध्ये माक्र्सवाद द्वन्द्वात्मक भौतिकवाद एवं ऐतिहासिक भौतिकवादको योगबाट निर्मित दार्शनिक चिन्तन एवं प्रणाली भएको बताउनुभयो। मानव समाजमा हुने परिवर्तन द्वन्द्वात्मक भौतिकवादी विधिअनुरूप हुने हुँदा कला साहित्यले पनि परिवर्तनका पक्षमा वकालत गर्ने उहाँको ठम्याइ थियो।

नेपाली समाज र जीवन परिवेशका सन्दर्भमा २०५२ सालयताको समयावधि नै समकालीन भएको उहाँको दाबी थियो। उहाँको कार्यपत्रमाथि मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले समीक्षा गर्नुभएको थियो।

यसै गरी निखिलले ‘समकालीन नेपाली उपन्यासमा अञ्चलिकता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भूगोल, संस्कृति, समाज र भाषालाई मुख्य आधार बनाएर कुनै स्थान विशेषका पात्र र त्यहाँको मनो–सामाजिक–सांस्कृतिकलगायतका समग्र चरित्रलाई पृथक् ढंगले प्रस्तुत गर्ने उपन्यास नै आञ्चलिक उपन्यास भएको बताउनुभयो।

उहाँले शंकर कोइरालाको ‘खैरेनीघाट’ नेपाली आञ्चलिक उपन्यासको पहिलो आदर्श मानिने उल्लेख गर्नुभयो। निखिलको कार्यपत्रमाथि आँचलकी सहसचिव निरा शर्माले समीक्षा गर्नुभएको थियो। दुवै कार्यपत्रमाथि कार्यक्रममा सहभागीबीच अन्तरविमर्श गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्