भ्रष्टाचारमा नेपाललाई ३४ अंक



काठमाडौं, (नेस)।

सन् २०१८ को तुलनामा सन् २०१९ मा मात्र नगन्य रूपमा सुधार देखिएको भए पनि नेपालमा भ्रष्टाचार अझै पनि ब्याप्त रहेको देखिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गरेको छ।

सरकारले भ्रष्टाचारविरोधी प्रतिबद्धता गरेको भए पनि सो अनुरूप कार्यान्वयन नभएको, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरूपयोग यथावत् रहनुलगायतका विषयले पनि नेपालमा भ्रष्टाचार व्याप्त रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ।

राज्यको सञ्चालनमा सीमित समूहको पकड रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको जस्ता कारण पनि नेपालमा भ्रष्टाचार व्याप्त हुनु अरू कारण भएको बताइएको छ।

ट्रान्सपरेन्सीले विश्वभर एकैसाथ १ सय ८० देशको भ्रष्टाचारको अवस्थाबारे बिहीबार सार्वजनिक गरेको हो। नेपालले कुल एक सय अङ्कमा ३४ अङ्क प्राप्त गरेको छ। एक सय अङ्क प्राप्त गरेमा भ्रष्टाचार शून्य भएको मानिन्छ।

 

प्रतिक्रिया दिनुहोस्