सिद्धबाबा भारततर्फ फरार



विराटनगर, (नेस)।

बलात्कार आरोपमा अदालतमा मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरीलाई नै झुक्याएर फरार भएका छन्।

उच्च अदालत विराटनगरमा आफूविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला बलात्कार आरोपित गिरी बिहीबार दिउँसो भारततिर लागेका हुन्।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाएर उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ हिँडेको जनाइएको छ।

उनी केही समर्थक र अनुयायीका साथमा सुनसरीको चतरास्थित आफ्नै आश्रमबाट बिहान उच्च अदालत जाने भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथ भारततिर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार गिरी स्वास्थ्य उपचारका लागि त्यता गएको हुनसक्छ। उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो।

कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्नेबारे केही जानकारी नगराइँदा आफू अन्योलमा परेको सुरक्षामा खटिएका हवल्दार साहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्