रेलसेवाका लागि २ सय २६ कर्मचारी करारमा लिन स्वीकृति



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिनुभयो।

यस्तै मन्त्रिपरिषद्को बैठकले काम गर्न नसकेपछि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ। जर्मनीमा रहेको नेपालको पुरानो राजदूतावास बिक्री गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरिएको छ। मालवस्तुको वर्गीकरण तथा उत्पत्ति विषयको पूर्वादेश जारी गर्नेसम्बन्धी विषयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि बैठकले निर्णय गरेको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि सम्पूर्ण आर्थिक, प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई कार्यकारी निर्देशक समेतको काम तोकिएको छ।

सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति प्रदान गर्ने र सो आयोजनाका लागि स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

त्यसै गरी बैठकले मस्र्याङ्दी कोरिडोर २ सय २० केभी प्रसारणलाइन आयोजनाबाट निर्माण हुने प्रसारणलाइनका दायाँबायाँ१५/१५ मिटर गरी ३० मिटर तथा सोलु कोरिडोर १३२ केभी प्रसारणलाइन आयोजनाबाट निर्माण हुने प्रसारणलाइनका दायाँबायाँ ९/९ मिटर गरी १८ मिटरभित्र पर्ने निजी आवादी जग्गा र सोभित्र रहेका घर, टहरा, अन्य भौतिक संरचना तथा रूखबिरूवासमेतको मूल्यांकन गरी क्षतिपूर्ति निर्धारण गर्नका लागि क्षतिपूर्ति निर्धारण समितिको अध्यक्षमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र विशेषज्ञ सदस्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सीडीई कल्पमोहन सोतीलाई तोक्ने निर्णय गरिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्षमा गणेशदत्त भट्ट, डडेल्धुरा, सदस्यमा प्रचण्डराज प्रधान, काभ्रेपलान्चोक, डा. गोविन्द गौतम, दाङ, मन दाहाल, मोरङ र विष्णु पोखरेल, बर्दियाललाई नियुक्ति गरिएको छ। त्यसै गरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी, भोजपुर, सदस्यमा विश्वप्रकाश भण्डारी, चितवन, गंगाधर अधिकारी, बागलुङ, सुनिल रञ्जना सिंह, सर्लाही र सरिता थापा, तनहुँलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

तेह्रथुम जिल्लामा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा गतिविधि सञ्चालन गर्ने क्रममा पक्राउ परी २०१९ कात्तिक २९ गते प्रहरीको गोली लागी हत्या भएका स्व. नेत्रप्रसाद गुरागाईंको योगदानको कदर गर्दै निजलाई राष्ट्रिय शहीद घोषण गर्ने निर्णय गरिएको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको बोन (जर्मनी) स्थित घरजग्गा बिक्री प्रक्रिया अघि बढाउन संघीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूतलाई अख्तियारी प्रदान गरिएको छ। तिब्बतका विभिन्न स्थानमा परम्परागत रूपमा बस्दै आएका नागरिकताविहीन हस्तलिखित राहदानीबाहेक नेपालीहरूलाई राहदानी जारी गर्न स्वीकृति दिइएको छ।

पश्चिम एसियामा विकसित घटनाक्रमहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले निरन्तर सूचना जानकारी लिई समीक्षा मूल्यांकन गर्ने र सम्बन्धित मन्त्रालय निकायहरूसँग समन्वय गरी आवश्यकतानुसार उपयुक्त कार्य गर्ने निर्णय गरिएको छ।

यसका लागि सम्बन्धित महाशाखाका अधिकृत कर्मचारीलाई कार्य जिम्मेवारी तोकिएको छ। उल्लेखित घटनाक्रमहरूका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली राजदूतावासलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

त्यसै गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अवस्थाका बारेमा निरन्तर सूचना जानकारी लिने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।. नेपाल र बहराइन सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरिएको छ।

नेपाल र लेबनान सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्को २०७६ जेठ ६ गतेको निर्णयबमोजिम गठित जाँचबुझ आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निर्णय गरिएको छ। त्यसमा प्रतिवेदनमा उल्लिखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने विषयमा आवश्यक कारबाही गर्नका लागि गुठी संस्थान ऐन, २०३३ को दफा ५२ बमोजिम गुठी संस्थानलाई निर्देशन दिने रहेको छ।

त्यसै गरी प्रतिवेदनले सिफारिस गरेबमोजिम विभिन्न जिल्लाका जग्गा रोक्का राखी व्यक्तिविशेषका नामबाट बदर गरी नेपाल सरकारको नाममा प्रचलित कानुनबमोजिम कायम गर्न आवश्यक कारबाही अगाडि बढाउने र प्रतिवेदनमा उल्लिखित कीर्ते गरिएको र ठगी भएको विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयमार्फत प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिने रहेको छ।

जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखी पठाउने र उपरोक्तबमोजिम कार्यहरू गरी सम्बन्धित निकायले प्रगति विवरण ३÷३ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्ने पनि निर्णय गरिएको छ।

जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको छ।

मन्त्रिपरिषद्को २०७६ असार २४ र २०७६ असार २९ को निर्णयानुसार साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने जिम्मेवारीसहित उक्त संस्थामा नेपाल सरकारका तर्फबाट शेयर लगानी बापत ३ अर्ब प्रदान गरी कार्य अगाडि बढाइएकोमा उक्त संस्थाले निर्धारित समयभित्र ती बस सञ्चालन गर्न नसकेको हँुदा नेपाल सरकारले साझा यातायत सहकारी संस्था लिमिटेडमा शेयरबापत लगानी गरेको ३ अर्ब र सो रकम उक्त लिमिटेडलाई उपलब्ध गराइएको मितिदेखि हालसम्मको ब्याज रकमसमेत नेपाल सरकारको नाममा फिर्ता लिने निर्णय गरिएको छ।

त्यसै गरी नेपाल सरकारको २०७५ पुस ९ को निर्णयानुसार वातावरणमैत्री विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एवं विद्युतीय बस आपूर्तिका लागि सर्तसमेत तयार गरी नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ। नेपाल सरकारका तर्फबाट उक्त कार्यका लागि ३ अर्ब अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउनेछ।

विभिन्न ४५ पदको २ सय २६ दरबन्दीमा औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाको माध्यमबाट नेपाल रेल्व कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। प्राविधिक प्रमुख सेनानी इन्दीवर गुरुङलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।

नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र महासेनानी अजय राईको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ। नेपाली सेनाका प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीसमेत ७ रथीवृन्द तथा ९ महासेनानीको सरूवा गर्ने निर्णय गरिएको छ।

प्रवद्र्धक सेन्चुरी इनर्जी प्रालिलाई हाँडी खोला साना जलविद्युत् आयोजना निर्माण गर्नका लागि गौरीशंकर संरक्षण क्षेत्रभित्रको १.२०७७ हेक्टर राष्ट्रिय वन/सरकारी वन प्रयोग गर्न र त्यहाँ रहेका रूखबिरूवा हटाउन स्वीकृत दिइएको छ।
कमाने (हेटौंडा) रिद्धिसिद्धि ३३ केभी प्रसारणलाइनको सहित केही पोल संरचना/टावरहरूको निर्माणकार्य गर्न मकवानपुरको हेटौंडा नगरपालिका–१५ मा रहेका चित्रेपानी, रातामाटे र संसारीमाई सामुदायिक वनलगायतको १.१४२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न र त्यहाँ रहेका रूखबिरूवा हटाउन स्वीकृति दिइएको छ।

नेपाल वायुसेवा निगमका सञ्चालक एवं कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघ १२ गतेदेखि लागू हुने गरी निगमको कार्यकारी अध्यक्षसहित सञ्चालक सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गर्ने र रिक्त रहन आएको सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय गरिएको छ।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४औं बैठक आगामी २०२१ को सेप्टेम्बरमा नेपालमा आयोजना गर्न स्वीकृति दिइएको छ।बुटवल उपमहानगरपालिकास्थित डिभिजन सडक कार्यालय, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयको भवन प्रदेश सरकार, प्रदेश नं ५ को सरकारी कार्यालयहरूको उपयोगका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।

सैनिक प्राड सेवा (पहिलो संशोधन) नियमावली, सैनिक विविध सेवा (पहिलो संशोधन) नियमावली, सैनिक हवाई सेवा (पहिलो संशोधन) नियमावली, सामाजिक सुरक्षा नियमावली, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरिएको छ। वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली पनि स्वीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्