सम्पदा क्षेत्रबाट स्थानान्तरण हुँदै शिक्षण संस्था



ईश्वरराज ढकाल, काठमाडौं। 

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेका चार शिक्षण संस्था स्थानान्तरण हुने भएको छ। दरबार क्षेत्रको मुख्यक्षेत्र तथा मध्यवर्ती क्षेत्रको सीमाभित्र पर्ने ती शिक्षण संस्थालगायतका संरचना हटाउने तयारी भएको हो।

अब केही महिनापछि दरबार क्षेत्रमा रहेका कान्ति ईश्वरी र कन्या मावि भवन, नवआदर्श र नेपाल संस्कृत विश्वविद्यालय रहेको भवन हटाउन लागेको हो।

केही महिनापछि दरबार क्षेत्रमा रहेको कान्ति ईश्वरी र कन्या मावि, नवआदर्श विद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवन हटाउन लागेको हो।

तीबाहेक तत्कालीन काठमाडौं जिल्ला प्रहरी कार्यालय (हनुमानढोका प्रहरी कार्यालय) र कोत क्षेत्रमा नेपाली सेनाको ब्यारेकका संरचनाहरूसमेत रहेका छन्।

ती संरचना कामपाको १९, २०, २३ र २४ वडामा पर्छन्। ती संरचना हटाए दरबार क्षेत्रको वर्षौंदेखि रहेको शिक्षाको इतिहास नामेट हुनेछ। हनुमानढोका क्षेत्रको गुरुयोजना निर्माण गर्न सक्रिय नेवाःव्वाहालि पुचःले दिएको प्रतिवेदनको आधारमा कामपा शहरी योजना आयोगले तयार गरेको सुझावमा चार शिक्षण संस्थासहित केही सम्पदा हटाउने भएको हो।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले हनुमानढोका दरबार क्षेत्रको विकास गर्न भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालयलाई तथा अन्य सम्पदाको वैकल्पिक स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

आयोगले तयार गरेको रायसहितको प्रतिवेदनमा कान्ति ईश्वरी र कन्या माविलाई अन्य नजिकको विद्यालयमा गाभ्ने प्रक्रिया अघि बढाउन कामपा शिक्षा विभागसँग राय माग्ने, नवआदर्श र नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयलाई स्थानान्तरण गर्न आवश्यक प्रक्रिया थाल्ने, वसन्तपुरमा रहेको वारुणयन्त्र तथा भवनको गुरुयोजना तयार गर्नेलगायत विषय उल्लेख गरिएको छ।

आयोगले सो विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समेत राय लिइसकेको छ। प्रतिवेदनमा हनुमानढोका प्रहरी कार्यालयको माइतीघरमा भवन निर्माण भइरहेको, कान्ति ईश्वरीमा करिब २ सय र कन्या माविमा करिब सय जना विद्यार्थी अध्ययन गरिरहेको अवस्थामा ती दुवै विद्यालयलाई शान्ति निकुञ्ज माविमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख गरिएको छ।

करिब २० रोपनी क्षेत्रफलमा फैलिएको शान्ति निकुञ्ज माविमा हाल करिब ४ सय विद्यालय अध्ययनरत रहेको अवस्थामा सो विद्यालयमा दुवै विद्यालयका विद्यार्थीलाई समावेश गर्न सकिने सुझाव दिइएको छ।

करिब २ हजार विद्यार्थी अट्ने क्षमता भएको शान्ति निकुञ्ज माविलाई सरकारले नमुना विद्यालय छनोट गरिसकेको अवस्थामा सो विद्यालयलाई कामपाको उत्कृष्ट विद्यालयका रूपमा विकास गर्न आयोगले सुझाव दिएको छ।

कामपाका प्रवक्ता डंगोलले इतिहास बोकेका ती विद्यालयको भवन जीर्ण भइसकेको अवस्थामा तत्काल व्यवस्थापन मात्र गर्न लागेको जानकारी गराउनुभयो।

‘सरकारले सरकारी विद्यालयको शिक्षालाई उच्च प्राथमिकता दिएको अवस्थामा ती विद्यालयलाई महानगरले विस्थापन गर्नुभन्दा पनि व्यवस्थित गर्न लागेका छौं।’ –प्रवक्ता डंगोलले भन्नुभयो।

तर, आयोगको प्रतिवेदनमा दरबारक्षेत्रमा रहेको शिक्षण संस्थालाई स्थानान्तरण गर्ने विषय उल्लेख छ। त्यस्तै नवआदर्श मावि र संस्कृत विश्वविद्यालय रहेको भवन स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ।

संस्कृत र नवआदर्श विद्यालय रहेका भवन भूकम्पले अति जीर्ण बनाएको अवस्थामा दुवै संस्था धरापमा राख्न नहुने सुझाव गरिएको छ। त्यसकारण संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालयलाई पूरै हटाउन र नव आदर्शलाई झोंछे टोलमा रहेको विद्योदय माविमा समायोजन गर्न सुझाइएको छ।

आयोगले तयार गरेको प्रतिवेदनको विषयमा कामपा शिक्षा विभागले अध्ययन गरिरहेको छ। विश्वसम्पदा सूचीमा रहेको दरबारक्षेत्रलाई उत्कृष्ट नमुनाको गन्तव्य स्थल बनाउन केही संरचनालाई स्थानान्तरण गर्न लागेको प्रवक्ता डंगोलको भनाइ छ।

नेवाःग्वाहालिको प्रतिवेदनको आधारमा तयार गरेको अधिकांश सुझावलाई कार्यान्वयन गर्न कामपाले अन्तिम गृहकार्य शुरू गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्