सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम हुने



न्युज अफ नेपाल, काठमाडौं ।

माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहब्यापी रुपमा सहिद दिवसका कार्यक्रम हुने भएको छन् । आज सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते शहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिका भेला भएर सुरक्षा निकायको व्याण्ड र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।

बैठकमा संयोजक एवं महानगरका प्रमुख शाक्यले प्रशासन बिभागलाई निर्देशन दिँदै भन्नुभयो –बिगतमा सहिद परिवारलाई महानगरले प्रदान गर्ने गरेको सहयोगलाई निरन्तरता दिने प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो । उहाले भन्नुभयो– प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा सहादत हुनु भएका सहिदहरुले प्राणदण्ड पाउनुभएको ठाउँमा पूर्ण कदको प्रतिमा राख्ने हामीले निर्णय गरिसकेका छौं । यस बर्ष ती प्रतिमाहरु प्रतिस्थापन हुनेछन् । उहाले सहिद धर्मभक्त माथेमाको स्मृतिमा वडा २३ ओमबहालमा पार्कको शुभारम्भ हुनेछ भने सहिद गंगालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गंगालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरिने जानकारी दिनुभयो । उहाले भन्नुभयो–सहिद धर्मभक्तका नाममा ‘सहिद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने हामीले निर्णय गरिसकेका छौं , बुढानिलकण्ठमा प्रक्रिया शुरु भइसकेको छ ।

बैठकमा बोल्दै कामपाका प्रशासकीय अधिकृत केदार न्यौपानेले सहिद दिवसका कार्यक्रमलाई परम्परा धान्नका लागि मात्र नभइ यसको महत्व झल्काउनुपर्ने बताउनुभयो ।

बैठकले सरसफाइको जिम्मेबारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रंगरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार बिकास बिभागलाई दिइएको छ । कार्यक्रम स्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।

मुल समारोह समितिको सदस्यहरुमा उपप्र्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, ४ सहिदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्षहरु (वडा नं. ७, १२, १५ र २६) हुनुहुन्छ । त्यस्तै बिभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, शशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । वि. सं. २०१२ सालदेखि काठमाडौं नगरको संयोजकत्वमा सहिद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्