बैतडीमा यू–१६ क्रिकेट शुरू



विनोद सिंह विष्ट, बैतडी। 

शहीद दिवसको अवसर पारी बैतडीमा मंगलबारदेखि टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ।शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २५औं वार्षिकोत्सव तथा रजत महोत्सवको उपलक्ष्यमा प्रतिष्ठानले १६ वर्षमुनिको विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो।

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाभित्रका १२ माविका टोली सहभागी छन्। प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार रहेको प्रतिष्ठानका सल्लाहकार तेज भट्टले जानकारी दिनुभयो। यस्तै म्यान अफ द सिरिजलाई ३ हजार , बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई १/१ हजार पुरस्कार रहेको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा निंग्लाशैनी बोर्डिङ स्कुल देहिमाडौं र वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक विजयी भएका थिए।

विजेता टोली तथा खेलाडीलाई पुरस्कार माघ १६ गतेका दिन दशरथचन्द नगरपालिका–५ बस्कोटमा आयोजना गरिने वार्षिकोत्सव समारोहमा वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्