कोरोना भाइरस मानवबाट पनि सर्ने पुष्टि विश्वभरि थप सुरक्षा र सतर्कता



बेइजिङ, (एजेन्सी)। 

चीनभरि तिव्र गतिमा फैलिरहेको नयाँ खालको रहस्यमय कोरोना भाइरसको संक्रमणका कारण चौथो व्यक्तिको ज्यान गएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने सरकारी चिनियाँ सरकारी निकायले मंगलबार पुष्टि गरेको छ। एक किसिमको निमोनिया निम्त्याउने यस भाइरसको पछिल्लो शिकार एक ८९ वर्षीय पुरष भएका छन्।

कोरोना भाइरसको महामारी फैलिएको केन्द«विन्दु वुहान शहरमा ती वृद्ध बस्दै आएको बताइएको छ। बेइजिङ र सांघाइलगायत चीनका अन्य थुप्रै प्रमुख शहरमा गरी २ सय जनाभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइसकेको चिनियाँ आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ।

सोमबार नै चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गआंगदोङ प्रान्तमा मानिसबाट मानिसमा कोरोना भाइरस सरेको दुईवटा घटना पुष्टि भइसकेको जनाएको थियो। यसैगरी वुहान नगरपालिका स्वास्थ्य आयोगले जारी गरेको एउटा छुट्टै विज्ञप्तिमा वुहानमा मात्रै कम्तिमा १५ जना स्वास्थकर्मी यस भाइरसबाट संक्रमित भइसकेको तथा तीमध्ये एकजनाको स्थिति चिन्ताजनक रहेको जनाइएको छ।

तिनीहरू सबैको छुटै स्थानमा राखेर उपचार भइरहेको पनि बताइएको छ। गत वर्ष पहिलोपटक यो भाइरस १ करोड १० लाख जनसंख्या रहेको मध्य चिनियाँ शहर वुहानमा फेला परेको थियो।

यसै सप्ताहान्तमा चिनियाँ नयँँ वर्ष मनाउनका लागि लाखौं व्यक्ति चीनभित्र आफ्ना गन्तव्यका लागि यात्रा गर्नेबेला यो भाइरस अझै विकराल रूपमा फैलिने चिन्ता भइरहेको छ। वुहानमा हालसालै भ्रमण गरेर फर्केकामध्ये केही व्यक्तिमा पनि कोरोना भाइरस भेटिएको खबर प्राप्त भएको छ।

यसैक्रममा थाइल्यान्डमा दुई, जापानमा एक र दक्षिण कोरियामा एकजना संक्रमित भएको पुष्टि भइसकेको छ। दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई कोरोनाभाइरस संक्रमित भएको पत्ता लागेको हो।

सिंगापुर, हङकङ र जापानको राजधानी टोकियोस्थित विमानस्थलहरूमा वुशनबाट आएका हवाई यात्रुमाथि विशेष निगरानी राख्न थालिएको छ। अमेरिकी सरकारले पनि गत साता सान फ्रान्सिस्को, लस एन्जेल्स र न्युयोर्कका विमानस्थलमा थप सुरक्षा नीति अपनाउने घोषणा गरेको थियो।

अस्ट्रेलियाले पनि वुहानबाट सिडनी आउने यात्रुहरूलाई राम्ररी परीक्षण गरिने जनाइसकेको छ। ठूलो संख्यामा चिनियाँ पर्यटक अस्ट्रेलिया पुग्ने गरेको छ। गत वर्ष १० लाखभन्दा बढी चिनियाँले अस्ट्रेलिया भ्रमण गरेका थिए। गत वर्ष देखापरेको कोरोना भाइरस पहिलोपटक पहिचान भएको हो।

वैज्ञानिकहरू यो भाइरसको श्रोत जनावरहरू भएको विश्वास गर्छन्। यो थुप्रै प्रकारका हुने भए पनि छ सातवटा मात्र मानव स्वास्थका लागि खतरनाक मानिन्छन्। यसबाट संक्रमित मानवमा ज्वरो आउने, खोकी लाग्ने र श्वास छोटो भएजस्तो भएर फेर्न कठिन हुने गर्दछ।

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)मानिसहरूलाई असुरक्षित जीवित जनावरहरू र रुघा खोकीको लक्ष्ँण देखिएका मानिसहरूबाट टाढै रहन र मासु तथा अण्डा राम्ररी पकाएर मात्र खान सुझाव दिएको छ। सार्स भाइरस पनि एक किसिमको कोरोना भाइरस हो।

दुई हजारको दशकको प्रारम्भतिर विश्वका दर्जनौं मुलुकमा सार्स महामारी फैलिँदा ७ सय ७४ जा मानिसको ज्यान गएको थियो।त्यसले विशेष गरी एसियालाई प्रभावित पारेको थियो। संयुक्त अधिराज्यका वैज्ञानिकहरूले केरोना भाइरसबाट अहिलेसम्म विश्वमा १ हजार ७ सय जनालाई प्रभावित पारेको भनिए पनि यो संख्या अझै ठूलो हुनुपर्ने बीबीसीलाई बताएका छन्। 

यता मुलुकभरि यस भाइरसको बिगबिगी भइरहेका बेला बजार चिनियाँ औषधी निर्माण कम्पनीहरूको सेयरको मुल्य बढ्न थालेको छ। सांघाई र सेन्झेन सेयर बजारमा थुप्रै औषधि निर्माण कम्पनीको सेयर मूल्य प्रतिदिन १० प्रतिशतको दरले वृद्धि भइरहेको बताइएको छ।

यसरी सेयर मूल्य वृद्धि हुने प्रमुख कम्पनीहरूमध्ये जियांग्सु सिहुवान बायोइन्जिनियरिङ, सान्डोङ लुकांग फर्मास्युटिकल र हेन्ग्रुइ मेडिसिन पनि परेका छन्। साथै मास्क निर्माण कम्पनी तियानजिन टेडा र सांघाई ड्रागनको सेयर पनि १० प्रतिशतले वृद्धि भइरहेको छ।

तर यसको विपरीत चिनियाँ अर्थ बजारमा चिनियाँ एयरलायन्स टुर तथा होटल कम्पनीहरुको सेयरमा भने भारी गिरावट आएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्