खाल्डामा गाडी खाल्डैमा पानी, दिनहुँ जामको हैरानी



काठमाडौं, (नेस)।

धुलाम्मे कच्ची बाटो। त्यसमा पनि साँघुरो सडक। आधा मिटरको बाटो नकाट्दै खाल्डै खाल्डो परेको। लामो र ठूलो आकारको सवारी आवतजावतमा जामैजाम।

यो दृश्य हो राजधानीबाट तीन किलोमिटर पर सुनाकोठी क्षेत्रको। झनै मेलम्ची खानेपानी उपआयोजनाले खानेपानीका लागि त्यही सडक खनेपछिको दृश्य झन् डामाडोल नै छ।

मेलम्चीले खनेको खाल्डो राम्रोसँग नपुरिदिँदा सवारी दिनहुँ खाल्डामा परेको देखिन्छ। चापागाउँ–लगनखेल रुटको सार्वजनिक बसका चालक सुमन घिमिरेले भन्नुभयो– ‘दिनहुँ गाडी फस्ने र निकाल्नै घण्टौं लाग्ने भएकाले घण्टौं जाम पर्छ।’

जामका कारण ढिला हुँदा कार्यालयमा सधैं स्पष्टीकरण दिनुपरेको लेलेकी सुनिता अधिकारीले बताउनुभयो। मेलम्ची उपआयोजनाका उपआयोजना प्रमुख उज्ज्वल प्रजापतीले भने पाइपका लागि सडक खनिसकेपछि पहिलाकै अवस्थामा राख्ने गरी काम गरेको दाबी गर्नुभयो।

प्रदेश सांसद राजकाजी महर्जनले मेलम्चीले सडक खनेपछि समस्या भएको बताउँदै ठेकेदारलाई बारम्बार ताकेता गरेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्