मनको छाउगोठ भत्काऊ



टंक पन्त

संविधानले सबै खाले विभेद अन्त्यको परिकल्पना गरेको छ। संविधानसभाले बनाएको संविधान अन्तर्राष्ट्रियरूपमै निकै प्रगतिशील मानिन्छ। राजनीतिक परिवर्तन पनि साँच्चै भन्ने हो भने सोचेभन्दा अग्रगामी भएको छ। राजनीतिकरूपमा जुन खालको परिवर्तन भयो त्यो अनुसार सोच र प्रवृत्तिमा परिवर्तन हुन सकेको छैन।

वर्तमान सरकारले ल्याएको नारा जति राम्रो छ, त्यसअनुसार कार्यान्वयन गराउन सरकारले मूल खम्बाको रूपमा ब्युरोक्रेसीलाई मनदेखि नै प्रभावकारी बनाउनुपर्ने खाँचो छ। त्यो खाँचोलाई पूर्ति गर्न सरकारका हरेक निकायको काम गर्ने शैलीमा परिवर्तन हुनै पर्छ। जबसम्म काम गर्ने शैलीमा परिवर्तन हुँदैन तबसम्म फेरि जोड दिएर भन्नै पर्छ कि छाउगोठ मात्र भत्काउने कि मनको गोठ पनि भत्काउने ?

काम गर्ने शैली र सोच आजभन्दा २० वर्षअगाडिको भन्दा फरक छैन। त्यसैले पनि राजनीतिक परिवर्तन भएअनुसार जनताको मुहारमा परिवर्तन आउन सकेको छैन। राजनीतिक दलले गर्ने निर्णय र सोही पार्टीका नेता–कार्यकर्ताले सोही निर्णयलाई कार्यान्वयन गर्ने प्रवृत्तिमा फरकपन रहेको छ।

दलले अग्रगामी निर्णय गरेको जस्तो देखिन्छ तर त्यो निर्णय कार्यान्वयन गर्ने तहमा रहेका नेता–कार्यकर्ताले सो बमोजिम गर्र्ने गरेका छैनन्। यसले गर्दा निर्वाचनमा गरिएका प्र्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न निकै सकस हुने गरेको छ। राजनीतिक तहभन्दा हाम्रो प्रशासनिक संयन्त्रको काम गर्ने शैली र प्रवृत्ति त झन् परम्परागत खालको छ।

कर्णालीका छाउगोठ भत्काएर हुँदैन, घर–घर रहेका छाउगोठे प्रवृत्ति अन्त्य गर्नुपर्छ। राजनीतिमा विद्यमान रहेको देखावटी छाउगोठे प्रवृत्ति र हरेक क्षेत्र एवं निकायमा रहेको गलत संस्कार अन्त्य गर्नुपर्ने खाँचो छ। घर–घरबाट मनभित्र रहेका छाउगोठे प्रवृत्ति हटाउन सकियो भने सामाजिक न्यायको विकास हुनेछ।

ब्युरोक्रेसीमा त काम गर्ने शैलीमा परिवर्तनको अनुभूति नै हुन सकेको छैन। जसको प्रभाव राजनीतिक नेतृत्वले भोग्दै आएका छन्। त्यसैले होला मन्त्रीहरूले पनि आफ्नो अनुभूति र विश्लेषण बेला–बेलामा खुलेआम बताउने गरेका छन्।

प्रशासनिक संयन्त्र भनेको स्थायी सरकार हो। यसर्थ प्रशासनिक संयन्त्रलाई परिवर्तनको अनुभूति गराउने खालको वातावरण निर्माण गर्ने दायित्व पनि राजनीतिक क्षेत्रको नै हो। हाम्रो काम गर्ने शैली र व्यवहार छाउगोठ भत्काउने जस्तो छ। किनकि हामीले मनको छाउगोठ भत्काउन सकेका छैनौं।

गणतन्त्र र संविधान आउँदाताका जनतामा यति ठूलो आशा र अपेक्षा थियो कि अब त जीवनमा धेरै परिवर्तन हुने भयो। तर आज पनि राजनीतिक परिवर्तनअनुसार जनतामा खुशी दिन सकिएको छैन। अछामलगायतका जिल्लामा विद्यमान छाउपडी प्रथाको अन्त्य कानुनीरूपमा गरियो तर व्यवहारमा हटाउन सकिएको छैन।

राजसंस्था भत्काएजस्तै छाउगोठहरू भत्काए पनि मनको छाउगोठ भत्काउन अझै धेरै मेहनत गर्नुपर्ने स्पष्ट छ। छाउगोठ भत्कायौ, राजतन्त्र भत्कायौ तर हाम्रो संस्कारमा परिवर्तन गर्न सकेका छैनौ। त्यसको असर प्रत्यक्षरूपमा आमनागरिकमा परेको छ। आमनागरिकले व्यवहारमा परिवर्तनको अनुभूति खोजिरहेका छन्।

अझ अहिलेको शक्तिशाली वामपन्थी सरकारबाट नागरिकको ठूलो अपेक्षा र भरोसा रहेको छ, जुन भरोसाका कारण नै नागरिकले सानदार बहुमतसहितको मत दिएका हुन्। निर्वाचनपछि दुई तिहाइको शक्तिशाली सरकार बनेको छ। यो सरकारबाट जनतामा रहेको आशा र भरोसा व्यवहारमा देखिनुपर्छ।

दुई तिहाइको सरकारले पनि गर्न सकेन भने कुन सरकारले नागरिकलाई खुशी दिन सक्छ भन्ने गभीर प्रश्न खडा हुने मात्र होइन नागरिकमा निराशा पनि उत्पन्न हुन सक्छ। जुन निराशाले आगामी राजनीतिलाई पनि ठेस पुर्याउनेछ। त्यसतर्फ वर्तमान सरकार र नेतृत्वले सोचेकै होला।

सोचेर मात्र हुने अवस्था पनि छैन। व्यवहारमा गर्ने र गराउने काम गर्नुपर्नेछ। कतिपय सरकारले गरेका कामलाई व्यवस्थितरूपमा जनसमक्ष राख्ने काम पनि हुन सकेको छैन। मन परे पनि नपरे पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाहेक अन्य मन्त्री वा अन्य जिम्मेवार निकायले भएका काम बाहिर ल्याउन भूमिका निर्वाह गरेका छैनन् भन्दा अत्युक्ति नहोला।

सरकारका प्रवक्ताहरू, सूचना अधिकारीहरू नाम मात्रका भएका छन्। उनीहरूको काम गर्ने शैली र सोचमा परिवर्तन आउन सकेको छैन। आज पनि सामाजिक न्यायबाट वञ्चित हुनेको संख्या हजारौं छ। सेवाग्राहीले सहजरूपमा सेवा पाउन सकेका छैनन्। राजनीतिक नेतृत्वले बनाएको सोचलाई ब्युरोक्रेसीले साथ दिएको छैन।

त्यसैले ब्युरोक्रेसीलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वले एकपटक बोल्ड डिसिजन गर्नुपर्छ। यसको अर्थ ब्युरोक्रेसीमा परिवर्तनको अनुभूति गर्ने कोही पनि छैनन् भन्ने होइन, धेरै छन्। तर निकै संख्या अहिले पनि परम्परागत ढर्रामा चल्नेछन्। तिनीहरूको काम गर्ने शैलीमा परिवर्तन ल्याउनका लागि छाउगोठ भत्काएजस्तो नगरी मनकै छाउगोठ भत्काएर मनैदेखि परिवर्तन गर्नुपर्छ।

राजनीति र छाउपडी प्रथालाई जोडेर विश्लेषण गर्नुको अर्थ परिवर्तनलाई भित्रै मनदेखि व्यवहारमा उतार्ने काम गरौं भन्ने हो। उदाहरणका लागि जनताको सबैभन्दा काम पर्ने ठाउँ मालपोत, यातायात व्यवस्था विभाग, अदालतलगायतका ठाउँहरूमा गएर हेरौं त, त्यहाँ नागरिकहरूले कति सास्ती भोग्नुपरेको छ ? ती ठाउँमा कहिले हुने परिवर्तन ?

ठेकदारहरूमा रहेको छाडापनलाई हटाउन नसक्दा सर्वसाधारणदेखि राज्यतहसम्मले सास्ती भोग्नुपरेको छ। यति हुँदा पनि जिम्मेवार निकायले किन बोल्ड निर्णय गर्न सकेको छैन ? भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने सूचना प्रत्येक कार्यालयको मूलगेटमै देख्ने गरी राखिएको छ।

देख्दिन भने पनि देखिन्छ तर त्यो व्यवहारमा कत्तिको कार्यान्वयन भएको छ त ? लैंगिक समानता र सामाजिक न्यायको अनुभूति आमनागरिकले गर्न पाएका छन् त ? भ्रष्टाचारको अन्त्य, लैंगिक समानता, सामाजिक न्याय जबसम्म व्यवहारमा स्थापित गर्न सक्तैनौ तबसम्म समृद्धि र विकास हुन सक्तैन।

हामीले मूलगेटमा भ्रष्टाचार गर्दिन भन्नु र व्यवहारमा देखाउनु निकै फरक कुरा हो। वर्तमान सरकारले ल्याएको नारा जति राम्रो छ, त्यसअनुसार कार्यान्वयन गराउन सरकारले मूल खम्बाको रूपमा ब्युरोक्रेसीलाई मनदेखि नै प्रभावकारी बनाउनुपर्ने खाँचो छ।

त्यो खाँचोलाई पूर्ति गर्न सरकारका हरेक निकायको काम गर्ने शैलीमा परिवर्तन हुनै पर्छ। जबसम्म काम गर्ने शैलीमा परिवर्तन हुँदैन तबसम्म फेरि जोड दिएर भन्नै पर्छ कि छाउगोठ मात्र भत्काउने कि मनको गोठ पनि भत्काउने ?
राज्य पनि आज कर्णालीका छाउगोठ भत्काउन क्रियाशील भएको छ।

सरकार जुन ढंगले क्रियाशील भएको छ, त्यो आफैंमा सकारात्मक पक्ष हो। तर पनि आज हामीले के बुझ्नुपर्छ भने, कर्णालीमा देखिने छाउगोठ भत्काउने एउटा पक्ष भयो भने अर्को पक्ष मनका छाउगोठ भत्काउने गरी सचेतना जरुरी छ। कर्णालीमै पनि छाउगोठको पक्षमा रहनेमा स्वयं महिला बढी छन्, त्यसमा ५० वर्षमाथिका रहेका छन्।

नयाँ जेनेरेसनमा भने मिन्सुरेसन भएको बेला घरभन्दा टाढा रहेको छाउगोठमा बस्नुपर्ने बाध्यता छैन भन्न थालेका छन्। त्यो सकारात्मक पक्ष हो। छाउपडी प्रथालाई मनदेखि नै अन्त्य गर्न नागरिक समाजका तर्फबाट टाक्सफोर्स बनाएर अध्ययन, अनुसन्धान पनि भैरहेको छ।

शर्मिला कार्कीको संयोजकत्वमा रहेको टाक्सफोर्सले गरेको अध्ययनले मानिसमा रहेको मनदेखिको छाउगोठ अन्त्यका लागि प्रभावकारी नीति ल्याउनुपर्ने र सोहीअनुसार सचेतना कार्यक्रम ल्याउनुपर्ने देखाएको छ।

जे होस्, कर्णालीका छाउगोठ भत्काएर हुँदैन, घर–घर रहेका छाउगोठे प्रवृत्ति अन्त्य गर्नुपर्छ। राजनीतिमा विद्यमान रहेको देखावटी छाउगोठे प्रवृत्ति र हरेक क्षेत्र एवं निकायमा रहेको गलत संस्कार अन्त्य गर्नुपर्ने खाँचो छ।

घर–घरबाट मनभित्र रहेका छाउगोठे प्रवृत्ति हटाउन सकियो भने सामाजिक न्यायको विकास हुनेछ। चाहे राजनीति होस् चाहे अन्य कुनै पनि जिम्मेवार ठाउँ होस्, त्यहाँ सकारात्मक सोचको विकास हुनुपर्छ र हरेक खाले अन्याय हुने प्रवृत्ति रोक्ने मात्र होइन निरूपण नै गर्ने उपाय खोज्नुपर्छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्