स्थानीय उत्पादनले बजार पाउँदै



सलिम अन्सारी, प्युठान।

धार्मिक पर्यटनका लागि प्युठानको स्वर्गद्वारी प्रसिद्ध छ। तर, हिजोआज कृषि उपज तथा हस्तकलाका सामग्रीका कारण स्थानीयबासीको रोजगारीका साथै प्युठानको चिनारी बन्न थालेको छ।

जिल्लाको स्याउलीबागमा उत्पादन हुने अल्लो, खलंगाको बाघमुखे चुलेसी र मरन्ठानाको हर्बल साबुन जिल्लाको ब्रान्ड बनिसकेका छन्। आन्तरिक र बाह्य पर्यटकले यहाँ उत्पादित ती सामग्री कोसेलीका रुपमा लैजान थालेको उद्यमीहरू बताउँछन्।

सजावटका लागि बाघमुखे चुलेसी, अल्लोबाट निर्मित झोला, टोपी, मोबाइलका कभरका साथै स्थानीय स्रोतबाट उत्पादित हर्बल साबुन देशका विभिन्न शहरसहित विदेशमा समेत रुचाउन थालिएको छ।

जिल्लाको अर्खा, रजवारा, स्याउलीबाग र ओखरकोटमा अल्लो उत्पादन हुन्छ। हाल जिल्लाभर करिब ८० जना अल्लो उद्यमी रहेका छन्। जसमध्ये अधिकांश महिला छन्।

जिल्लाबाट मासिक करिब १५ लाख रुपियाँको प्रशोधित अल्लोको धागोसहित विभिन्न सामग्री निर्यात हुने गरेको व्यवसायीको तथ्यांक छ। उद्यमीले प्रशोधन गरेको अल्लोको धागो विदेशी बजारमा पुर्याउन आफूले सहयोग गर्ने कोठी हिमाल अल्लो उद्योगकी सञ्चालक चित्रकली बुढाले बताउनुभयो।

जंगलमा खेर गएको सिस्नोलाई उच्च मूल्य दिने बालीको दर्जामा पुर्याउन चित्रकलीको समूह सक्रिय छ। बाघमुखे चुलेसी पनि जिल्लाको अर्को पहिचान हो। तरकारी काट्ने औजार र सजावटका लागि यसको प्रयोग गरिन्छ। तर, यसको प्रवद्र्धनमा भने खासै ध्यान पुग्न नसकेको सरोकारवालाहरूको भनाइ छ।

हाल बजारमा चुलेसीको माग बढ्दो छ। माग पुर्याउन सकिएको छैन। खलंगास्थित बुढाचौरमा यसको प्रवद्र्धनका लागि साझा सुविधा केन्द्र खोलिएको छ।रातो मुलाका लागि चर्चित प्युठान चिउरीको साबुनमा पनि उत्तिकै चर्चित छ। मरन्ठानाको झिमरुक हर्बल सावुन उद्योगद्वारा उत्पादित साबुन जापानमा समेत निर्यात भइरहेको छ।

एक दशक अघि स्थानीय दुर्गा केसीले सञ्चालन गरेको उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योगमध्येको एक हो। चिउरीबाट कस्मेटिक सामग्री, जैविक विषादी, आयुर्वेदिक औषधि, वनस्पति घ्यु आदि बनाउन सकिन्छ। चिउरी खेतीलाई विकास गर्न सक्दा वर्षको आठ महिना मौरी चरण हुन्छ।

यहाँ मौरी पालन फस्टाउँदो छ। जिल्लाको स्याउलीबागमा रातो मुलाको पनि व्यावसायिक उत्पादनलाई कृषकले निरन्तरता दिइरहेका छन्।दाखा क्वाडीमा श्रीखण्डको लोभलाग्दो जंगल हेर्न पाइन्छ। जिल्ला वन कार्यालय र स्थानीय वन उपभोक्ता समूहले यो वनलाई तारबार गरेर सुरक्षित गरेका छन्।

स्थानीयले श्रीखण्डबारे थाहा नपाउँदा झण्डै सिद्धिएको यो वन अहिले हराभरा बनेको छ। पहिले यो वनको श्रीखण्ड गोठको घोचो, भैंसीको किलो, खुर्पाको बिँडँ सबै बनेको गाउँलेले सुनाए।

तर, अहिले यहाँको श्रीखण्डको तेल प्रतिलिटर ३ लाख रुपियाँसम्ममा चीन निकासी हुन थालेको छ। यो व्यवसायका साथै श्रीखण्डको निजी नर्सरी खुल्न थालेका छन्। त्यस्तै दक्षिणी प्युठानका गाउँमा अर्गानिक अदुवा खेती गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्