खाद्यान्नको मूल्य बढ्दा निर्माण सामग्रीको मूल्यमा संकुचन



नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। खाद्य वस्तुको मूल्यवृद्धि हुँदा निर्माण सामग्रीको भने मूल्य घट्न पुगेको छ।

आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीलगायत खाद्य समूहमा मूल्यवृद्धि उच्च रहेको जनाएको हो।

प्रतिवेदनअनुसार चालू आवको पाँच महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणको पनि मूल्य बढेको छ।

यसैगरी २०७६ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलब ९८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलब १८ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी चालू आवको मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलब ५५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलब ७१ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलब ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७ दशमलब ६० प्रतिशत, तराईमा ६ दशमलब ६६ प्रतिशत, पहाडमा ५ दशमलब २७ प्रतिशत र हिमालमा ४ दशमलब ८३ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ मंसिरमा यी क्षेत्रमा क्रमशः ३ दशमलब ६८ प्रतिशत, ३ दशमलब ६५ प्रतिशत, ३ दशमलब ८४ प्रतिशत र ४ दशमलब शून्य ५ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेकोमा भारतमा यस्तो (डिसेम्बर महिनाको) मुद्रास्फीति ७ दशमलब ३५ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३ दशमलब ७१ प्रतिशत र २ दशमलव ११ प्रतिशत रहेको थियो। बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पँुजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २० दशमलब ४४ प्रतिशत, ३ दशमलब ९२ प्रतिशत र २ दशमलब ३४ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ५ दशमलब १६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्