सुध्रियो रेमिट्यान्स, ३७६ अर्ब भित्रियो



नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा विप्रेषण आप्रवाह झिनो अंकले बढेको छ। पछिल्लो समय निरन्तर घटिरहेको रेमिट्यान्स पाँचौं महिनामा आएर शून्य दशमलब १ प्रतिशतले बढ्दै ३७६ अर्ब ९९ करोड रुपियाँ भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१ दशमलब ९ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह शून्य दशमलब ७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलब २ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११ दशमलब ८ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८ दशमलब ४ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७ दशमलब ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलब ४ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति शून्य दशमलब ८ प्रतिशतले कमी आई ४२५ अर्ब ३६ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९ दशमलब ८ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्