निर्यातमा २७ प्रतिशतको वृद्धि, व्यापार घाटा ५३३ अर्ब ६४ करोड



नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा निर्यात तथा आयातमा सुधार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा वस्तु निर्यात २७ प्रतिशतले बढेको छ भने आयात ४ दशमलव २ प्रतिशतले घटेको छ।

मंसिर महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलब २ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलब ७ प्रतिशतले वृद्धि भएको थियो।

त्यस्तै साउनदेखि मंसिरसम्ममा कुल वस्तु आयात ४ दशमलव २ प्रतिशतले घटेर ५८१ अर्ब २६ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ दशमलब २ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९ दशमलव ५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५ दशमलव ६ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरूको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगन्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुरबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरूबाट भएको आयातमा ह्रास आएको छ।

यसैगरी कुल वस्तु व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले घटेर ५३३ अर्ब ६४ करोड रुपियाँ रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलब २ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलब २ प्रतिशत रहेको थियो।

गन्तव्यका आधारमा भारततर्फ ४८ दशमलब ६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ दशमलब २ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव २ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ। यसैगरी जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरूको निर्यात घटेको छ।

मंसिर महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलब २ प्रतिशतले बढेको छ।

त्यस्तै आयात मूल्य सूचकांक २ दशमलब ९ प्रतिशतले घटेको छ। २०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत आधारमा ४ दशमलब ४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ मंसिर महिनामा ३ दशमलव २ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्