गोसाइँकुण्ड क्षेत्रका गुफा, गुम्बा तथा झरनाको महत्व बेग्लै



सरस्वती न्यौपाने
हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलमध्येको एक हो गोसाइँकुण्ड। देवादिदेव महादेवको पवित्रस्थल, त्रिशूली नदीको उद्गमस्थलका रूपमा परिचित यस क्षेत्रमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। उत्तरगया तथा गोसाइँकुण्ड क्षेत्रका गुफा, गुम्बा, झरनालगायतका पर्यटकीय गन्तव्यको महत्व बेग्लै रहेको छ।

१) छेसाङ–डुप्साङ (गुफा)

यो गुफा गोसाइकुण्डको पश्चिम र भैरवकुण्डको दक्षिणको डाँडामा पर्दछ। यो गुफालाई तामाङले छेसाङ–गुप्रवाङ भन्छन्। कार्पु बेन झाँक्रीले यो गुफामा तपस्या गरेका हुनाले यसलाई कार्पु बेन गुफा पनि भनिन्छ। यस गुफाभित्र तपस्या गर्दा छोटो समयमा नै आध्यात्मिक शक्ति प्राप्त हुने विश्वास रहेकाले पनि यो गुफा निकै महत्वपूर्ण मानिन्छ।
२) कर्मगुरु छम्खाङ (गुफा)
यो गुफा पाङलिङ खर्कको पछाडि भीरको कुनामा छ। एक जना कर्म नाम गरेका लामाले पत्ता लगाएर तपस्या गरेका हुनाले गुफाको नाम कर्मगुरु छम्खाङ रहन गएको हो।
३) गुलुलु छम्खाङ (गुफा)

यो गुफा ढिस्सामा पर्दछ। ढिस्साको दोम्च्ये गुम्बाको भग्नावशेषदेखि अलि पछाडि गुलुलु भन्ने ठाउँको कुनातिर रहेको भन्ने गाउँका लामाहरू बताउँछन्। यसको अन्वेषण गर्न भने बाँकी नै छ।

४) ल्हाखाङ गुफा 

यो गुफा भार्खु गाउँको फाङगोदी भन्ने ठाउँमा पर्दछ। भार्खु गाउँका सबै लामाले ल्हाखाङ गुफामा तपस्या गर्दै आएका छन्। गुफा धेरै ठूलो नभए पनि भार्खु गाउँको बौद्धमार्गीको तपस्यास्थल र सभ्यतासँग यो गुफाको सम्बन्ध रहेकाले यसको महत्व बढेको हो।

५) डुप्क्ष गु (गुफा)

भार्खु गाउँको भीमसेन प्राथमिक विद्यालयको कुनाको भीर–पहरामा यो गुफा छ। गुफाको छेउमा पानीको मुहान छ। गाउँका लामा तथा झाँक्रीले यो गुफामा तपस्या गर्दछन्।

झाँक्रीहरू शिखरबेंसीको दुप्चेश्वरी जान नसकेको वर्ष यही गुफाछेउको पानीको मुहानमा पूजा गर्न आउँछन्। यो मुहानमा झाँक्रीहरूले तान्त्रिक शक्तिद्वारा पानीको आकार बढाउन सक्ने हुनाले यो गुफालाई महत्वपूर्ण मानिन्छ।

गोसाइँकुण्ड क्षेत्रका गुम्बाहरू 

१. बेन्ज्या गुम्बा

यो गुम्बा सिङ गुम्बापछाडिको जंगलमा छ। यस क्षेत्रको यो सबैभन्दा पुरानो गुम्बा हो। संरक्षणको अभावमा यस गुम्बाको भग्नावशेष मात्र देख्न सकिन्छ।

२. आप्सा गुम्बा

यो पनि सिङ गुम्बानजिकैको जंगलमा छ। यो गुम्बा पुरानोमध्येको एक हो।

३. फुलुम गुम्बा

सिङ गुम्बाबाट एक घन्टा उकालो चढेपछिे यस गुम्बामा पुग्न सकिन्छ। पुरानो गुम्बा भएकाले गुम्बाको संरक्षणका लागि नेपाल सरकारले गुठीको व्यवस्था गरिदिएअनुसार गुम्बाको नाममा सिन्धुपाल्चोकमा केही रोपनी धानखेत छन्।

हेलम्बुको गाङ घ्युल गाउँबाट गुम्बाको जग्गा कमाउने मोही गुठियार आएर जनैपुर्णिमाको एक रात भार्खु गाउँका झाँक्रीसहितका गाउँलेलाई खाना खुवाउने परम्परा थियो। भार्खु गाउँका लामाहरूले पूजा गर्नुपर्दथ्यो।यो गरेबापत त्रिशूल धारामा जनैपुर्णिमाको दिन चढाएको भेटी पनि गुठियारले नै संकलन गर्न पाउने परम्परा थियो। ०४६ सालको राजनितिक परिर्वतनपछि पनि केही वर्ष यो चलन यथावत थियो। हाल यस क्षेत्रको संरक्षण–सम्वद्र्धन गोसाइँकुण्ड क्षेत्र विकास समितिले गर्दै आएको छ।

४. ददोम्च्ये गुम्बा

दोम्च्ये गुम्बा अहिले भत्किसकेको छ। यो गुम्बा केही वर्षअधिघसम्म निकै प्रख्यात थियो। गुम्बाभित्र दोर्जे क्षाङ (बुद्ध) को सुनको जलप लगाइएको मूर्ति थियो। अहिले त्यो मूर्तिलाई भार्खु गाउँको टासी गुम्बामा राखिएको छ।गुम्बाको हेरचाह गर्न त्यतिखेर दोम्चे माम थिइन्। गुम्बाभित्रको आकर्षक थाङ्काका चित्र धेरै राम्रा थिए। बुद्ध मूर्तिले आफ्नो अनुहारमा केही न केही चम्किलो वा मधुरो पारेर दिनहुँ भविष्यवाणी गरिरहेको हुन्थ्यो भन्ने जनविश्वास रहेको छ।

त्यसैअनुसार कुनै मानिसको मृत्यु हुने रहेछ भने मूर्तिको अनुहार मधुरो देखिन्थ्यो। गाउँमा बालीनाली सप्रिने, दुःख–बिमार नहुने, कुनै महामारी नहुने वर्ष–महिना वा दिनमा मूर्ति एक प्रकारले चम्किलो हुने गरेको स्थानीयबासी बताउँछन्।
५. टासी गुम्बा

टासी गुम्बा जिल्लाभित्रका अन्य पुराना गुम्बामध्येको एक हो। यो गुम्बा भार्खु गाउँमा रहेको छ। गुम्बाभित्र फापा चोरेसी (सृष्टिकर्ता), गुरु रिम्बाक्षे खेण्डोमो (देवी), वेपामे साङमो (बुद्ध) को मूर्ति रहेको छ। केही वर्ष अघिदेखि दोम्च्ये गुम्बामा रहेको दोर्जे क्षेवाङ बुद्धको मूर्ति पनि यहीं राखिएको छ।

गुम्बामा घ्युम त्रिपिटक दोमाङ र अन्य धार्मिक पुस्तक, पुराना मुखुण्डाहरू पनि छन्। तीमध्ये केही त चोरी भइसकेका छन्। गुम्बाका पुराना एकजोर झ्याम्टा क्ष्याबुप र एक थान पुरानो मानव नलीखुट्टाले बनेको बाजा कङलिङ पनि हराएसकेको छ।
गुम्बामा दुईवटा पुराना शंख छन्। बिहान–बेलुकी घन्ट बजाइसकेपछि यही शंखले शंखनाद गरिन्छ। गुम्बाको बाहिरपट्टि झुन्डाएको दुईवटा घन्ट पनि धेरै पुराना हुन्।
यी दुई घन्टमध्ये सानोचाहिँ घन्ट जनैपूर्णिमा बेला गोसाइँकुण्डमा लगेर बजाउनुपर्दथ्यो। घन्ट झुन्डाउने ढुंगाको खम्बा कुण्ड पुग्नुअगावैको ओरालोमा ठडिएको छ।यस क्षेत्रमा झरना तथा कुण्डहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

१. ग्यो नेवा:

यो कुण्ड गोसाइँकुण्ड बन्नुअघिको सबैभन्दा पहिलो कुण्ड हो। अचानक छेउमा कुण्ड देखिएकाले गाउँलेले कुण्ड उडेर आई अवतरण गरेको भन्ने अर्थमा ग्यो नेवा भनेर तामाङ भाषामा भनेको हुन्।

यस कुण्ड गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँको खोलाकिनारमा पर्छ। यो कुण्डको निर्माण महादेव र भैरवले बनाएको भन्ने किम्वदन्ती छ।
२. सपिङ गयो

यो सानो भार्खु र ठूलो भार्खु गाउँ बीचको माथिको जंगलमा छ। गोसाइँकुण्ड बन्नुअघिको दोस्रो कुण्ड यसैलाई मानिन्छ। यो कुण्डको पानी नीलो रङको देखिन्छ।
सपिङको अर्थ नीलो माटो र ग्योको अर्थ कुण्ड हो। कुण्ड नीलो देखिन्छ र यसको वरिपरिको माटो पनि नीलो रङको छ। यो कुण्डलाई सफा गर्न नीलै रङको चरा आएर कुण्डमा तैरिरहेका पातपतिङ्गर उठाएर लैजाने गथ्र्यो भन्ने जनविश्वास रहेको छ।
३. नाम्सुङ ग्यो 

यो कुण्ड चन्दनवारीभन्दा उत्तरपश्चिमको जंगल बीचमा छ। गोसाइँकुण्ड बन्नुअघिको कुण्ड भएकाले यसको महत्व रहेको छ। कुण्डको पानी गोठाला गाईबस्तु र जंगली जनावरले उपयोग गर्दछन्। संरक्षणको अभावमा वर्षेनी यो कुण्ड पुरिँदै गएको छ।

४. व्याङ्लतीकुण्ड
यस कुण्डलाई नेपालीमा सरस्वतीकुण्ड भनिन्छ। यो लौरीबिनाबाट दक्षिणको खोचर भैरव झरनाको मुनितिर रहेको छ। कुण्डको स्थानीय नाम व्याङ्लती हो। यस कुण्डलाई घ्युम ससबारी भनेर पूजा गरिन्छ।

ससरी देवीलाई वर्षेनी एउटा कुखुरा बलीसहित पूजा गरिन्छ। तर, पूजाका लागि कुण्ड नै पुग्नुपर्दैन। बोम्बोले पीठोबाट ससबारीको प्रतीमा तोर्मो बनाएर घरमै पूजा गर्दछन्। बली चढाउने कुखुरा साखिने जातको रैथाने हुनुपर्छ।

अन्डा पनि रैथाने कुखुराको नै हुनुपर्छ। ससबारीको पूजा गरेपछि घरमा चौरी नहुने तथा कसैले त्यो घरको फलामजन्य सामग्री तथा अन्य कुनै पनि सरसामान चोरी गरेको खण्डमा त्यस्तो व्यक्तिको गर्दन दुखेर हलचल गर्न गाह्रो हुन्छ भन्ने जनविश्वास रहेको छ।

५. भैरवकुण्ड

यो कुण्डमा हेर्दैमा नीलो–कालो देखिने भैरवलाई स्थानीयहरू छोना कालो कुण्ड भन्छन्। भैरवकुण्डलाई माउदेउको दाजुका रूपमा लिइन्छ। भैरवकुण्डप्रति स्थानीयको सकारात्मक दृष्टिकोण छैन।

किनभने यसले राम्रोभन्दा पनि नराम्रो गर्छ भन्ने विश्वास रहेको छ। गोले वंशको तामाङ झाँक्रीले छोना भैरवलाई शत्रुका रूपमा नै हेर्ने गर्दछन्। त्यसैले स्थानीयबासी गोसाइँकुण्ड जाँदाखेरि भैरवकुण्डलाई हेर्छन् तर फर्किंदा हेर्दैनन्। यदि कसैले हेर्यो र डर लाग्यो भने भैरवकुण्डले सातो खान्छ भन्ने विश्वास रहेको छ।
६. सूर्यकुण्ड
सूर्यकुण्डलाई स्थानीयहरू नोर्छो धनकुण्ड भन्छन्। यो कुण्डलाई पूजा गर्दा धन प्राप्त हुन्छ भन्ने विश्वास रहीआएको छ।

७. कले आमा (सृष्टि माता कुण्ड)

यो कुण्ड त्रिशूल धारामुनिको गोसाइँकुण्डसँग दक्षिणतिर जोडिएको सानो कुण्ड हो। कले आमा कुण्ड तरेर गोसाइँकुण्डको फेरो मार्ने गरिन्छ।

कले आमालाई नेपालीमा सृष्टि माता कुण्ड भनिन्छ। स्थानीयले कले आमालाई ठूलो श्राद्ध गर्दछन्। कले आमाका इच्छाअनुसार मानव जातिको सन्तानको जन्म हुन्छ भन्ने जनविश्वास छ।
८. गंगा त्रिशूल धारा 
त्रिशूल धारालाई स्थानीय गंगा, आमा गंगा र महागंगा पनि भन्छन्। यसलाई ठूलो श्रद्धापूर्वक लिइन्छ।

९. भैरव झरना

भैरव झरनालाई स्थानीयले धेरै शक्तिशाली मान्छन्। भैरव कुण्डको पानी बगेर झर्ने भएकाले यसको नाम नेपाली मा भैरव झरना भनिएको हो। भैरव झरनाको वरपर जाँदा गोलो खालको नाङ्लो आकारको शक्तिशाली इन्द्रेणीले घेर्दछ।

यसलाई स्थानीय भाषमा सागो भन्छन्। झरनाको वरिपरि उमे्रकोे जडीबुटी टिप्न लाग्दा उक्त इन्द्रेणीले लखेट्छ भन्ने जनविश्वास रहेको छ। इन्द्रेणीले भेटायो भने मान्छे मुच्र्छा परेर मर्न पनि सक्छ भन्ने गरेको पाइन्छ।

रसुवाका धार्मिक सांस्कृतिक महत्वका यस्ता आस्थाका धरोहरलाई जीवन्त राख्न नेपाल सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ। यसलाई जीवन्त राख्न सके आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने निश्चत छ। सरकारले गोसाइँकुण्डलाई सिमसार सूचीमा राखेको छ तर गोसाइँकुण्ड वरपरका गुफा, गुम्बा तथा झरनाको उचित प्रचार–प्रसार भएको पाइँदैन।
यस्तो महत्वपूर्ण ठाउँ हाम्रो आस्थाको धरोहर हो। स्थानीय सरकारले पनि आफ्नो क्षेत्रको लुकेका धार्मिक क्षेत्रको संरक्षण गरी प्रचार–प्रसारमा लाग्न जरुरी छ। यी ठाउँमा पुग्न खासै अप्ठ्यारो नपर्ने, प्याकेज मिलाएर घुम्न सकिने ठाउँ हो।
गोसाइँकुण्डमा हाल दैनिक २ सयको हाराहारीमा विदेशीलगायत स्वदेशी पर्यटक आउँछन्। उनीहरूलाई यसको महत्व तथा महिमाबारे जानकारी भए लामो समयसम्म यस क्षेत्रमा बस्ने सक्छन्।
साँच्चै नै भन्नुपर्दा यस क्षेत्रमा थुप्रै हेर्नलायकका ठाउँहरू रहेका छन्। प्रकृतिको अनुपम छटालगायत थुप्रै धार्मिक आस्था बोकेको गोसाइँकुण्ड, पार्वतीकुण्ड, दूधकुण्ड, क्याङ्जेन गुम्बा, कालिका मन्दिर, उत्तरगया धाम ऐतिहासिकस्थल रसुवागढी र गुप्तेश्वर महादेव लगायतका अनेको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिकस्थल रहेका छन्।
यहाँ महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महसुस भएपछि वेदको लठ्ठी सृष्टि भएको वेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला दक्षिणपूर्वी भाग, नेसिङ खोला, घट्टेखोला र अन्य स–साना खोला पनि असंख्य मात्रामा रहेका छन्।
देशकै तेस्रो पदयात्रा गन्तव्यका रूपमा रहेको लामटाङ राष्ट्रिय निकुञ्ज, भौगोलिक, जैविक, सांस्कृतिक धार्मिक र पर्यावरणीय हिसाबले यो क्षेत्र धेरै धनी रहेको छ। भौगोलिक बनोट, हावापानी, वन–जंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिको बसोबास, रहन–सहन भेषभूषाका साथै जैविक विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व छ।
‘यस्ता आस्थाको धरोहर हाम्रो जिल्लामा धेरै छन्। जो अहिले ओझेलमा परेका छन्। केहीको प्रचार भए धेरै गुमनाम नै छन्। त्यसैले प्रचार–प्रसार हुन जरुरी देखिन्छ।’ –स्थानीयबासी तथा समाजसेवी धन्चेमा खलामा कार्पु घले बताउनुहुन्छ।
 गोसाइँकुण्ड गाउँपालिकामा पर्ने गोसाइँकुण्ड, सूर्यकुण्ड, नागथली, लाङ्सिसा खर्क, गञ्जला र भञ्ज्याङ रहेका छन्। आमाछोदिङमो गाउँपालिकामा पार्वतीकुण्ड, सोमदाङ, माङ्चेत, साङजेन खर्क रहेका छन्। नौकुण्ड गाउँपालिकामा नौवटा कुण्ड रहेका छन्। कालिका गाउँपालिकामा उत्तरगया धाम रहेको छ।
प्रतिक्रिया दिनुहोस्