बेल्जियमकी राजकुमारी नेपाल भ्रमणमा



नेपाल समाचारपत्र, काठमाडौं। 

एक साता लामो नेपाल भ्रमणका लागि बेल्जियमकी राजकुमारी एस्ट्रिड आइतबार दिउँसो काठमाडौं आइपुग्नुभएको छ। उहाँ भक्तपुर, कैलाली, नवलपरासी र चितवनका विभिन्न सामाजिक कार्यमा सहभागी रहनुहुनेछ।

एस्ट्रिडले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य, जनसंख्या एवं कानुनमन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग उहाँले भोलि मंगलबार भेटवार्ता गर्ने बताइएको छ।

सो मुलुकबाट २३ वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण भएको हो। सन् १९८० को दशकमा राजा अल्वर्ट द्वितीय अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो।

त्यसै गरी राजा फिलिप र राजपरिवारका अन्य सदस्य पनि सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमणमा आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेल्जियमका वर्तमान राजा फिलिपकी सहोदर बहिनी एस्ट्रिड यो भ्रमण पनि अनौपचारिक रहेको परराष्ट्रले प्रस्ट्याएको छ। अनौपचारिक भ्रमण भए पनि उहाँको नेपालयात्राले द्विपक्षीय सम्बन्धलाई अझ घनिष्ठ बनाउने, व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ।

कैलालीमा निर्माण भएको नयाँ क्षयरोग केन्द्रको उद्घाटन गर्ने राजकुमारी एस्ट्रिडले त्यहाँका कुष्ठरोगी र क्षयरोगीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। साथै नवलपरासीको मध्यविन्दु अस्पतालको अवलोकन गर्ने र त्यहाँका सेवाग्राहीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

यी अस्पताललाई दामिन फाउन्डेसन नामक बेल्जियमको गैरसरकारी संस्थाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको छ।
राजकुमारी एस्ट्रिड विगतमा विभिन्न मुलुकमा विनाशकारी हात–हतियार र बारुदी सुरुङमुक्त अभियानमा समेत क्रियाशील रहनुभएको थियो।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उहाँलाई स्वागत गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्